तिनाउ विकास बैंकद्धारा आँखा शिविर



काठमाडौं(नेस)
बुटवलको हस्पिटल लाईनमा केन्द्रिय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत १ दिने नि–शुल्क आँखा सिविर सम्पन्न गरेको छ । बैंकले शाखा कार्यालय बेलबास मार्फत रुपन्देहीको बुटवल उप महानगरपालिका वार्ड नं. १३ बेलबासको आफ्नै शाखा परिसरमा २०७५ फागुन १४ गतेका दिन निःशुल्क आँखा शिविर सम्पन्न गरेको बैंकका शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा १५९ जना महिला र ९४ जना पुरुष गरी जम्मा २ सय ५३ जनाको आँखा परिक्षण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा लायन्स आँखा अस्पतालका शिबिर प्रमुख नेत्र सहायक अखलेश यादव, नेत्र सहायक रचना पराजुली, सि.एम.ए. सुरेश चौधरी र भिजनटेस्टर गंगा बहादुर बुढाले आँखाको परिक्षण गरेका थिए । उक्त शिविरबाट २२ जना मोतियाविन्दु भएका अति विपन्न परिवारलाई निःशुल्क शल्यक्रियाका लागी छनौट गरि बुटवल लायन्स अस्पतालमा पठाईएको अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बुटवल १३ बेलबासका स्थानियहरुले बैकले सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै समय समयमा हुने यस्ता शिविरले स्थानीय स्तरमा सहयोग पुग्ने बताउनुभयो ।

शाखा प्रमुख अधिकारीले यस शिविरमा उल्लेखनिय सहभागीता रहेको साथै आगामी दिनमा समेत बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै जाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्