खाँचो विशेष सुरक्षा दस्ताको



काठमाडौंका टोल वस्तीमा राँगा–भैसीले आफ्नो सम्राज्य विस्तार गर्न खोज्या धेरै पटक भयो । तर जति प्रयास गरेपनि राँगा– भैसीको रणनीति सफल भा छैन । मःम, छोयला, कचिला अनि मासुका अनेकथरी परिकारका लागि उपत्यकाबासीले आफ्नो जमातलाई रोजेपनि आफू विरुद्ध मान्छेको मनोमानी बढेकोमा उनीहरुको घोर आपत्ति छ ।

आफ्ना साहुको मनोमानी विरुद्ध प्रतिकारमा उत्रिएको एक राँगोले शनिवार विहानै काठमाडौंको मच्छेगाउँका स्थानीय रामबीर मानन्धरलाई घाइते बनाएपछि उपचारका क्रममा मानन्धरको निधन भएको छ । दुई बर्षअघि बधशालाबाट फुत्किएको राँगोले दिउँसै शहिदगेटमा फन्को लगाउँदा धेरैको सातो पुत्लो लिएको थियो । त्यसअघि २०७१ मंसिरमा पनि बुद्धनगरको एक अस्पतालमै भैसी छिरेपछि भैसी र प्रहरीको घम्साघम्सी प¥या कुरो धरहराले बिर्सिया छैन ।

राँगो–भैसीले सडकमै उत्रिएर असन्तुष्टी पोख्दा प्रहरीले गोली प्रहार गरी बहादुरी प्रदर्शन गर्दै आएको छ । यसरी एकपछि अर्को घटनामा प्रहरीले ठामको ठाम गोली नै ठोकेपछि बबुरो पशुको के नै लाग्छ र ? तर पशुका पनि एक से एक नयाँ पुस्ता तयार छन्, ढिलो छिटो फेरी सडकमा प्रतिकारमा उत्रिन्छन् । त्यसैले सरकारले यस्ता घटना नियन्त्रण गर्न विशेष तालिम प्राप्त सुरक्षा दस्ता गठन गरे बेसै हुन्थ्यो । सरकारको पनि सफलताको सूचि थपिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्