रेडपाण्डाको छालासहित एक जना पक्राउ



धनवीर दाहाल, रुकुम ।
दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित रुकुम पश्चिममा एक व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुसिकोट नगरपालिका १ गिलबाङ्गबाट दुर्लभ बन्य जन्तु रेडपाण्डाको ३ थान छाला सहित बाँफिकोट गाँउपालिका वडा नं ३ कोलचौरका २३ बर्षिय विकास बि.कलाई पक्राउ गरेको हो ।

ग.५.प ११६५ को मोटरसाइकलमा मुसिकोट तर्फ आइरहेको बेला खानतलासी गर्दा रेडपाण्डाको छाला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बिशेष सुचनाका आधारमा पक्राउ गर्न सफल भएको बताएको छ । मोटरसाईकलमा सवार २ जना मध्य प्रतिक भनिने एक व्यक्ति भने भागेका छन् । प्रतिकलाई नियन्त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिने क्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते हुनुभएको छ विष्टको खुट्टामा गहिरो चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार पक्राउ गरेका विकासलाई बन ऐन अनुसार कार्वाही हुने भएकालेले डिभिजन बन कार्यालयमा बुझाइने छ । फरार रहेका प्रतिक भनिने व्यक्तिको खोजी कार्य तिब्र बनाइएको डिएसपी खड्काले बताउनुभयो । प्रहरीले रेडपाण्डा सहित मोटरसाइलकल पनि बरामद गरेको छ । उच्च हिमाली क्षेत्रमा पाइने नेपालकै दुर्लभ बन्यजन्तु रेडपाण्डको छाला बरामद गरेको रुकुममा यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्