वायुसेवा निगमलाई टेन्डर नखोल्न लेखाको निर्देशन



काठमाडौं, (नेस)
पाल वायुसेवा निगमले खरिद गरेका वाइडबडी विमानमा अनियमितताको भएको बताउँदै आएको संघीय संसदकोे सार्वजनिक लेखा समितिले शुक्रबार निगमकै न्यारोबडी विमानको मर्मतको र नयाँ टेन्डर नगर्न निर्देशन दिएको छ।

लेखा समितिमा परेको उजुरी आधारमा शुक्रबार बसेको लेखा समिति बैठकले न्यारोबडी विमान ए ३२०–२०० को टेन्डर रद्द गरिएको र नयाँ टेन्डर मागको साथै ए ३२०–२०० को टेन्डर स्वीकारको विषयमा छलफल गरी सो निर्णय गरेको हो। समितिका सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्म बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको जानकारी दिनुभयो। निगमले बोलपत्र शुक्रबारनै खोल्ने कार्ययोजना रहेको थियो।

नेपाल वायु सेवा निगमले ३३० को लागि पहिले खुलाएको टेन्डर रद्द गरेर मर्मत सम्भारको लागि दोस्रोपटक टेन्डर गरेको थियो। पहिले मर्मत सम्भार र लिजमा इन्जिन ल्याउने टेन्डर एकै शीर्षकमा गरेकोमा त्यो टेन्डर रद्द गरेर छुट्टाछुट्टै टेन्डर प्रकिया अघि बढाएको वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताउनु भएको थियो। ए ३२० जहाजको लागि इन्जिन मर्मतको लागि गरिएको टेन्डरमा पनि लेखा समितिले आर्थिक अनियमितता भएको हुन सक्ने जनाएको छ। लेखा समितिका सदस्य प्रेम आलेले १ अर्ब ५३ करोड रुपियाँ मुलुकलाई घाटा हुने गरी विमान मर्मत गर्ने कम्पनीको नाम छनोट गर्न नहुनेमा जोड दिनुभयो।

टेन्डर स्वीकार गर्ने क्रममा सबैभन्दा कम कबोल गर्नेलाई नदिएर अर्को कम्पनीलाई दिइएको जनाइएको छ। तर, वायुसेवा निगमले भने सबैभन्दा कम कबोल गर्ने कम्पनीले तोकिएका सबै शर्त पूरा नगर्ने भएकाले अर्को कम्पनीलाई दिएको जनाएको छ। निगमको दोस्रो पटकको पत्राचारमा भने सबैभन्दा कम कबोल गर्ने कम्पनीले सबै शर्त पूरा गर्ने प्रतिबद्धता जनाए पनि निगमले बोलपत्र नदिएकाले आशंका गर्ने ठाउँ रहेको समिति सदस्य विरोध खतिवडाले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्