ग्यास बिक्री नगर्ने चेतावनी



नेपाल समाचारपत्र, काठमाडौं
एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको पनि ऐक्यबद्धता जनाएका छन्। ग्यास उद्योगीहरूले घोषणा गरेको आन्दोलनका कार्यक्रमप्रति ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाउँदै ग्यास बिक्री नगर्ने चेतावनी दिएको हो। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी बिक्रेता महासंघले उद्योगीहरूको आन्दोलनमा आफ्नो समर्थन रहेको र माग पूरा नभए ग्यास बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएको छ।

यसअघि गत बिहीबार उद्योगीहरूले १० बुँदे माग पूरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए।‘एलपी ग्यास उद्योगीहरूको आन्दोलनमा बिक्रेताहरूको समर्थन रहेको छ’ महासंघका महासचिव विनोद् काफ्लेले भन्नुभयो–‘हाम्रा माग पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिन्डर सम्बन्धित निकायमा बुझाउछौं।’ महासंघले ६ बुँदे माग अघि सारेको छ। उद्योगीहरूको माग पूरा गर्नुपर्ने, बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरू गर्नुपर्ने, बिक्रेता वितरकको कमिसन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने रहेका छन्।

यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर र डिलरमा काम गर्ने ९व्यक्ति० को बीमा गरिनुपर्ने र ग्यास बिक्रेतालाई आवश्यक तालिमको व्यवस्था हुनुपर्ने माग संघले अघि सारेको छ। संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्री वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताउनुभयो। सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्