भारतले नदीको पानी उपयोग गर्न सक्छ ः पाकिस्तान



इस्लामावाद, (एजेन्सी)
भारत प्रशासित काश्मिरको पुलवामा भएको भीषण आक्रमणपछि पाकिस्तानतर्फ बग्ने नदीको पानी रोक्ने भारतको चेतावनीलाई लिएर पाकिस्तानले आफू चिन्तित हुनुनपर्ने प्रतिक्रिया दिएको छ। सिन्धु जल सन्धिअन्तर्गत रावी, सतलुज र व्यास नदीबाट आफ्नो हिस्साको पानी रोक्ने भारतको फैसलामा पाकिस्तानको उक्त बयान आएको हो।

भारतका केन्द्रीय जल संसाधन मन्त्री नीतीन गडकरीले बिहीबार पुलवामा काश्मिर पृथकतावादी विद्रोही आक्रमणमा सीआरपीएफका ४० सुरक्षाकर्मी मारिएपछि भारतले सिन्धु जल सन्धिअन्तर्गत पाकिस्तानतर्फ जाने ३ नदीको आफ्नो हिस्साको पानी जान नदिने फैसला गरेको बताएका थिए।

पाकिस्तान जल संसाधन मन्त्रालयका सचिव ख्वाजा सुमाइलले भने– ‘यदि भारत पूर्वी नदीहरूको पानीको मार्ग बदल्छ भने यसको आपूर्ति आफ्ना नागरिकलाई गर्छ वा अन्य कुनै उद्देश्यका लागि यसको प्रयोग गर्छ, यसमा न कुनै चिन्ता छ न त कुनै आपत्ति नै। किनभने सिन्धु जल सन्धिअन्तर्गत भारतलाई त्यस्तो गर्न अनुमति प्राप्त छ।’
पाकिस्तानले सिन्धु जल सन्धिका सन्दर्भमा गडकरीको बयानलाई चिन्ताजनक नमानेको उनको भनाइलाई उद्धृत गर्दै डन अखबारले जनाएको छ। वास्तवमा भारतले रावी बेसिनमा शाहपुरकंन्डी बाँध निर्माण गर्न चाहेको र यो परियोजना सन् १९९५ देखि अड्किरहेको उनले जानकारी दिए। ‘अहिले भारत पाकिस्तानतर्फ जाने आफ्नो हिस्साको पानी प्रयोग गर्ने उद्देश्यले यसलाई बनाउन चाहेको छ। यदि उसले यसको भण्डारण गरी वा बाँध बनाएर कुनै अन्य तरिकारले आफ्ना नागरिकका लागि यो पानीको प्रयोग गर्न चाहन्छ भने त्यस्तो गर्न सक्छ, किनभने यसमा हाम्रो कुनै लेनदेन छैन।े’ –सुमाइलले बताए।

यदि भारतले पश्चिमी नदीहरू चेनाब, सिन्धु र झेलमको पानी प्रयोग गरेमा वा तिनीहरूको पानीको बहावको मार्ग परिवर्तन गरेमा भने निश्चितरूपमा आफ्नो चिन्ता अगाडि सार्ने, आपत्ति जनाउनेछ, किनभने त्यसमा हाम्रो पनि हक छ।’ –उनले जानकारी दिए। पाकिस्तानका सिन्धु जल आयुक्त सैयद मेहर अली साहले सिन्धु जल सन्धिले सन् १९६० मा भारतलाई पूर्वी नदीका पानी प्रयोग गर्न अधिकार दिएको छ र अब उसले आफ्नो पानी उपयोग गर्छ वा गर्दैन उसमै निर्भर गर्ने उनले बताए।
सन् १९६० मा उनले पूर्वी नदीको पानी उपयोगमा नल्याइएका हिस्साको प्रयोग गरेको छ वा छैन भन्ने विषयमा पाकिस्तानलाई कुनै समस्या नभएको शाहले बताए। यदि अहिले भारत त्यस्तो गर्न चाहन्छ भने पाकिस्तानलाई कुनै समस्या नहुने उनले प्रस्ट पारे। यदि भारत यसको उपयोग नै गर्न चाहँदैन भने पनि पाकिस्तानलाई त्यसबाट कुनै समस्या नहुने उनले थपे।

प्रतिक्रिया दिनुहोस्