वोत्स्वानामा हात्तीको शिकार गर्न पाइने



गावोरोने, (एजेन्सी)
वोत्स्वानाको मन्त्रीमण्डलले शुक्रबार ४वर्षदेखि हात्तीको शिकारमाथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। महिनौं लामो गम्भीर परामर्श र छलफलपछि मन्त्रीहरूले हात्तीको मासुलाई घरपाल्तु जनावरहरूलाई ख्वाउन टिनबन्द गरी बिक्री वितरणका लागि समेत सिफारिस गरेका छन्।

वोत्स्वानामा करिब १ लाख ३० हजारवटा हात्ती रहेको अनुमान गरिएको छ। केहीले हात्तीको यो संख्या इकोसिस्टमको हिसाबले निकै बढी नै रहेको दाबी गर्ने गरेका छन्। वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ।

तर अन्य केहीले भने हात्तीको शिकारमाथि प्रतिबन्ध लगाइएयता राष्ट्रमा पर्यटकको संख्या नाटकीय ढंगले बढेको बताउँछन्। साथै तिनीहरूले यदि सो प्रतिबन्ध फुकुवा गर्ने हो भने हात्ती संरक्षणसम्बन्धी राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नै आँच आउने पनि बताएका छन्।

सन् २०१८ को अप्रिलमा सत्तामा पुगेको केही समयपछि नै राष्ट्रपति मोकग्वित्सी मासिसीले मन्त्रीहरूलाई आफूभन्दा अघिका राष्ट्रपति इयान खामाले सन् २०१४ मा लागू गरेको प्रतिबन्धमाथि पुनरवलोकन गर्न अनुरोध गरेका थिए।

यस सम्बन्धमा आयोजना गरिएका सरकारी बैठकमा विभिन्न संघसंस्था, समुदायहरू र व्यक्ति विशेषलाई आ–आफ्ना धारण राख्ने मौका दिइएको थियो। हात्तीहरू निकै आक्रोसित हुँदा तिनीहरूले ग्रामीण क्षेत्रमा बालीनाली नास गर्ने तथा मानिसहरू पनि मार्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्