स्मार्ट सिटी बनाउने अभियानमा वालिङ



अमृत अर्याल, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गसहित नगरभित्रका अन्य सडकहरुलाई चौडा बनाउन काम शुरु गरेको छ । नगरपालिकाले वालिङ नगरपालिकाको सीमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी सोमबारबाट गरेको हो ।

वालिङ नगरपालिकाले यसअघि सडक विभागको डोजरको सहायता तथा नगरपालिकाको ईन्धन र अन्य ट्रिपरहरुको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग १२ किलोमिटर चौडा गरिसकेको छ । “स्मार्ट सिटी निर्माणका लागि आवश्यक पर्ने चार वटा पिल्लरहरुमध्येको एउटा पिल्लरकोरुपमा ‘स्मार्ट ईन्फास्टक्चर’ लाई लिएका छौं जसभित्र पनि ‘फिजिकल ईन्फास्टक्चर’ भित्र सडक राखेका छौं” वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले भन्नुभयो, “मापदण्ड अनुसारका सडकहरु निर्माण गर्नका लागि नगरभित्र रहेका सडकहरुलाई चौडा बनाउन थालेका हौं ।”

करीब ८२ करोडको लागतमा ‘डेडीकेटेड टु लेन’ को सडक तथा सडकको किनारामा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्ने गरी डिपिआर तयार गरेर पेश गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । “वालिङमा दिन प्रति दिन सवारी साधन तथा मानिसहरुको चाप बढ्दो क्रममा छ” नगर प्रमुख खाँणले भन्नुभयो, “दुर्घटना भईसकेपछि पछुताउनुभन्दा दुर्घटना हुन नदिन अथवा दुर्घटना न्यूनिकरणका लागि सजगता अपनाउँदै सडक चौडा गर्ने कार्यलाई प्राथमिकतासाथ अगाडि बढाएका छौं ।”

हाल एउटा डोजरको प्रयोगबाट शुरु गरेको कार्यलाई केही दिनमै अन्य डोजरहरु पनि थप गरी विस्तार कार्यलाई समयभित्रै सक्ने योजना वालिङ नगरपालिकाको रहेको छ । “नगरभित्र पर्ने सिद्धार्थ राजमार्गका घुम्ती तथा साँघुरो भएका सडकलाई विस्तार गर्ने तथा नगरभित्रका विभिन्न सहायक सडकहरुलाई पनि मापदण्ड अनुसार निर्माण गर्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “निर्माण सम्पन्न भईसकेपछि दुर्घटना न्यूनिकरण गर्नका लागि आवश्यक नियमहरुको कार्यान्वयनका लागि जोड दिने छौं ।”

प्रतिक्रिया दिनुहोस्