फेरि एकसाथ ३



योसाता एकसाथ ३ फिल्म रिलिजमा आउने भएको छ। आज शुक्रबार फिंगर प्रिन्ट, रुमालै छ चिनो र ब्वाइफ्रेन्ड नामका ३ फिल्म रिलिजमा आउने भएको हो।

कामना फिल्म्स्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितीज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन्। शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको विषयमा बनेको छ। फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ।

सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका विषय प्रस्तुत गरिएको छ। नवीन निरौलाको लेखन र निर्देशनमा बनेको फिल्म अन्तरजातीय प्रेम, त्यसप्रतिको सामाजिक विकृत मनस्थितिप्रति गरिने व्यवहार र अन्त्यमा त्यस्ता नराम्रो सोच भएका व्यक्तिहरूको लज्जास्पद हार र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको फिंगर प्रिन्ट परिवर्तन गरेर कसरी सोझासाझा व्यक्तिलाई प्रलोभन देखाएर वा बाध्य बनाएर फसाइन्छ भन्ने विषय देखाउन खोजिएको छ।


रुमालै छ चिनो ज्योति फिल्म्स्को ब्यानरमा रेश्मा थापाको प्रस्तुतिमा बनेको छ। फिल्ममा सुशान्त कार्की, किशोर खतिवडा, सञ्चिता लुइँटेल, अप्सना थापा, मिथिला शर्मालगायतका कलाकारको मुख्य भँमिका छ। दिनेशसिंह ठकुरीको निर्देशनमा बनेको फिल्म चन्द्रबहादुर खड्काले निर्माण गरेका हुन्। फिल्ममा रेश्मा थापाको कथा, दिनेशसिंह ठकुरीको पटकथा र संवाद, सम्राट बस्नेतको द्वन्द्व, विनोद सापकोटाको छायांकन र शिव थारूको सम्पादन रहेको छ। फिल्ममा कलेज जीवनबाट भारतीय सेनामा भर्ती भई जम्बुकास्मिरमा लडाइँ लडेको एक नेपाली युवाको कथा छ। फिल्ममा सुशान्त कार्की लाहुरेको भँमिकामा छन्।

ब्वाइफ्रेन्ड बुढाथोकी फिल्म्स् प्रालिको ब्यानरमा मदन घिमिरे निर्देशन गरेका छन्। पुष्कर रेग्मी, कृष्ण खनाल, सरोज खनाल, महिमा सिलवाललगायतले यसमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्