एट्लेटिकोसँग युभेन्टस पराजित



लन्डन, (एजेन्सी)
एट्लेटिको मेड्रिडले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६को खेलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सलाई २–० ले पराजित गरेको ६ ।

खेलको ७८औं मिनेटमा जोसे जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै कप्तान डिएगो गोडिनले गोल गर्दै अग्रता दोब्बर पारे । उनको प्रहार रोनाल्डोलाई लाग्दै गोलमा परिणत भएको थियो । युभेन्ट्सले एट्लेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग मार्च १२ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

यो नतिजाले युभेन्टसलाई दवावमा पु¥याएको छ । दोस्रो लेगमा युभेन्टसले ३–० गोलअन्तरले जित्नुपर्ने ठूलो दवावका साथ खेल्नुपर्नेछ । यस्तै रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा इटालीयन टोलीका लागि ६ खेलमा १ गोल मात्रै गर्न सकेका छन् । तर उनी सिरि ए मा भने १९ गोल गरेर गोलगर्ने सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

सिटीको जित
इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले पराजित गरेको छ । खेलको अन्तिम २० मिनेटमा १० खेलाडीमा सिमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गर्दै जित हात पारेको हो ।

खेलको १८ औं मिनेटमा सर्जियो अगुएरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिम मिनेटमा साल्केले अग्रता लियो । प्राप्त पेनाल्टीमा बेन्टालेबले गोल गर्दै साल्केलाई अगाडी बढाएका थिए ।

खेलको ६८ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछि सिटीले डिफेन्डर निकोलस ओटामेन्डीलाई गुमायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लेरोय सानेले ८५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । अन्तिम मिनेटमा रहिम स्टरलिङले गोल गरेपछि सिटीको जित पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्