रोमाञ्चक जितसँगै महेन्द्रनगर क्वालिफायर्समा



धनगढी,(नेस)
महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ ।

शरद भेषवाकरको कप्तानीमा रहेका महेन्द्रनगर बिहिबार भएको इलिमिनेटरमा रहेको रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराएको हो । अब महेन्द्रनगरले फाईनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सको सामना गर्नेछ । विजेताले शनिबार हुने फाईनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ । रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनायो । खराब सुरुवात गरेको महेन्द्रनगरका लागि कप्तान शरदले अविजित २९ रन जोडे । शरदले सातौं विकेटका लागि अमर सिंह रौटेलासंग ४९ रनको साझेदारी गर्दै टोलीको इनिङ समाले । अमर १९ रनमा आउट भए ।

यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११÷११ रनमा आउट भए । रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए ।

महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । रोमान्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जितका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जित दिलाए । अविनाशले अन्तिम ओभरमा १ रन दिएर ३ विकेट लिए । जसमा २ रन आउट थिए ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८÷२८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए । महेन्द्रनगरका अविनास बोहराले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले १÷१ विकेट लिए ।

प्रतियोगितामा महेन्द्रनगर चौथो स्थानमा रहदै प्ले अफमा पुगेको थियो । यस्तै रुपन्देही तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको थियो । महेन्द्रनगरले रुपन्देहीसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । समूह चरणमा महेन्द्रनगर रुपन्देहीसंग २ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्