मौलिक ‘पैंसेरु’ नाच जोगाउन प्रतियोगितात्मक अभियान



धनवीर दाहाल, रुकुम ।
मुसिकोट नगरपालिका १ छिङ्गका युवा भिमु शाही सेतो धरी, पटुकी, र गलबन्धी भिरेर समुह सहित ब्रहटाकुरा छिरे । मादल, झयाली र डौंरी सहित उनको समुह पैंसेरु नाच प्रतियोगितामा भाग लिन छिङ्गबाट खलंगा पुग्यो । उनको समुह त एक प्रतिनिधित्व हो । भिमु शाहीको समुह जस्तै मुसिकोट नगरपालिकाका १३ वटा पैंसेरु समुहले पुरानो संस्कृतिको रक्षा र संरक्षणका लागी प्रतियोगितात्मक पैंसेरु नाचमा भाग लिए ।

रुकुम पश्चिमको मुसिकोटमा पहिलो पटक युवा तथा जेष्ठ नागरिकको सामुहिक रुपमा प्रतियोगितात्मक पैंसेरु नाच आयोजना गरिएको हो । परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्न भन्दै जिल्ला सदरमुकाम मुसिकोटमा ‘मौलिक लोक कला संस्कृतिको संरक्षण र विकास गरौँ, साँस्कृतिक रुपान्तरण सहित पर्यटन प्रवद्र्धनमा अघि बढौं’ भन्ने मूल नाराका साथ नगर स्तरीय पैंसेरु नाच प्रतियोगिताको आयोजना गरिएको छ ।

मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम शाखाले सञ्चालन गरेको हो । नगरप्रमुख देवीलाल गौतमले यहाँ भएका मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने कार्यका लागि नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । पछिल्लो समयमा बाह्य संस्कृतिले स्थानीय परम्परागत मौलिक संस्कृतिलाई विस्थापित गर्दै गएकोमा चिन्ता व्यक्त गर्दै अब युवा पुस्ताले यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । नगरपालिकाको सहयोगमा गतवर्ष पनि सिंगारु नाच प्रतियोगिता सञ्चालन भएको थियो ।

यस्ता प्रतियोगिताको आयोजनाले गाउँटोलहरुमा नाचको तयारी गर्ने क्रममा नयाँ पुस्ताले समेत सिक्ने अवसर प्राप्त हुने मुसिकोट नगरपालिका –२ का शिवराम खत्रीले बताउनुभयो । परम्परागत मौलिक संस्कृति जोगाइराख्न स्थानीय स्तरमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमको आवश्यकता रहेको उहाँको भनाई छ । कर्णाली प्रदेशकै पहिचानको रुपमा रहेका पैंसेरु, सिंगारु, टप्पा, मयुर लगायतका नाचहरुको प्रवद्र्धन गर्दै पर्यटन विकासमा समेत टेवा पु¥याउने उद्देश्यले आफूहरुले बेलाबेलामा यस्ता कार्यक्रमहरु गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुमका सचिव तुल देवकोटाले बताउनुभयो ।

जिल्लाको गहनाको रुपमा रहेको पैंसेरु मात्र नभएर लोप हुन लागेका संस्कृतिको रक्षाको लागी आफुहरु जुटिरहेको प्रतिष्ठानका अध्यक्ष अमित परियारको भनाई छ । स्थानीय सरकारसँग समन्वय गरी सबै स्थानिय तह सम्म कार्यक्रम गर्ने प्रतिष्ठानका उपाध्यक्ष पुर्णचन्द्र के.सीले जानकारी दिनुभयो । प्रतियोगितामा मुसिकोट १ को छिङ्ग बहुउद्देश्यीय सहकारी संस्था प्रथम, मुसिकोट १४ को समुह द्धितिय र मुसिकोट १० को समुह तृतिय भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख शर्माले लोप हुन लागेका संस्कृतिको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको धारणा राख्नुभयो ।

त्यस्तै उत्कृष्ठ बाद्यबाधक, उत्कृष्ठ मौलिक पोषाक र अत्यधिक दर्शक आकर्षण गर्ने समूहलाई समेत पुरस्कार प्रदान गरिएको छ । गत ७ गते संचालन भएको कार्यक्रम बिहिबार समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्