गीतमाथि राजनीति किन ?



नेपाली सांगीतिक बजारमा पछिल्लो समय युट्युबमार्फत सार्वजनिक भएको पशुपति शर्माको एउटा लोकगीतका कारण ठूलो हलचल मच्चिएको छ । शर्माले गीतमा प्रयोग गरेका शब्द र उनको गीतको आसयलाई लिएर एक हिसाबले देश दुई ध्रुवमा बाँडिएको जस्तो आभास हुन थालेको छ । शर्माले एकदिन मात्रै युट्युब च्यानलमा राखेर आफैंले गीत हटाएको बताइरहेका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक भएपछि वर्तमान राष्ट्रपति, सरकार सञ्चालक र सामाजिक बेथितिको बारेमा तिखो व्यङ्य गरेको विषयमा कसैले प्रश्न उठाएको छैन । तर वर्तमान सत्ताघटक नेकपा निकट युवा संगठनले प्रेस विज्ञप्ति निकालेर गीतमा राखिएका कतिपय शब्द सच्याउन आग्रह गरेको कुरा मात्रै बाहिर आएको छ ।

सडकमा शर्माको गीतलाई लिएर सरकारलाई गाली गरिरहेकाहरुले भनेजस्तो सरकारले शर्माको गीतको विषयमा कुनै पनि आशयको कुरा बाहिर ल्याएको छैन । न त सत्ता घटक पार्टीले नै उनको गीतको विषयमा केही बोलेका छन् । शर्मा आफैंले युवा संघको सामान्य विज्ञप्तिपछि गीत सच्याएर फेरि ल्याउने गरी युट्युबबाट हटाएको बोलिरहेका छन् । तर सत्तापक्ष र प्रतिपक्षमा बाँडिएको मासलाई दुवैतिरका दलहरु र तिनका कार्यकर्ताहरुले प्रयोग गरिरहेको देखिन्छ ।

व्यङ्ग्यात्मक तरिकाबाट शर्माले पछिल्लो नेपालको यथार्थलाइै गीतमा उतार्न खोजेको कुरामा कसैको दुई मत छैन । तर उनले गीतका कतिपय शब्दहरुमा त्रुटि गरेको कुरा स्वयंले स्वीकार गरेको कुरा हो । राष्ट्रपतिजस्तो सम्मानित संस्थाका विरुद्धमा उनको आवाज छ । यदि अर्बाैंको हेलिकप्टरको विषयमा बोल्नुपर्ने थियो भने त्यो हेलिकप्टर उपलब्ध गराउने सरकारले हो । राष्ट्रपतिलाई नै किटानी गर्नुभन्दा सांकेतिक र व्यङ्ग्यात्मकरुपमा सरकारलाई सजग बनाउन सक्नुपर्दथ्यो ।

कलाकारसँगै शर्मा यो देशका नागरिक पनि हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा कर्तव्यको पालना गर्नुपर्ने व्यवस्था पनि नेपालको संविधान २०७२ ले गरेको छ । शर्माको गीतमा प्रयोग भएका यमराजले राज्य चलाउँछन्, कुकुरजस्तै भुक्ने कार्यकर्ताजस्ता शब्दहरुमा अलिक परिवर्तन गर्न सकिने थियो । त्यसबाहेक उनको गीतमा बोलिएका सामाजिक यथार्थलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन । यो गीतको विषयमा प्रतिनिधिसभा बैठकमा नै दोहोरी चल्नु भनेको देशकै लागि लज्जाको विषय हो ।

उनले सामाजिक बेथितिमाथि व्यङ्ग्य गर्दा केही त्रुटि गरेका छन् र सच्याउने प्रयत्न पनि । त्यसैले यो विषयलाई सत्ता र प्रतिपक्षको प्रतिष्ठासँग जोडर मैदानमा उत्रिनुको कुनै तुक छैन । सरकारले यदि गीतमाथि प्रतिबन्ध लगाएको भए त्यो अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षप हुन्थ्यो । र, त्यस्तो कुनै पनि हालतमा गरिनुहुँदैन । शर्माले युट्युबबाट हटाएको गीतलाई परिमार्जनपछि पुनः प्रसारण गर्नुपर्छ । किनकि त्यो सिर्जना हो । गल्तीलाई स्वीकार गर्नु महानता हो । त्यो महानता पशुपतिले देखाइसकेका छन् । सामाजिक बेथितिमाथिको प्रहार पशुपति शर्माको गीतलाई पुनः युट्युबमा राखियोस् । आफ्नै अपमान हुने गरी देशको बेइजती हुने काम सिर्जना गर्नेहरुबाट पनि नहोस्, यसैमा सबैको कल्याण हुनेछ ।
– दीपेन्द्र बोगटी, काठमाडौं ः हाल कुबेत ।

शहरी प्रदूषण घटाउन विद्युतीय गाडीको आवश्यकता
नेपाल वातावरणीय हिसाबले जोखिमपूर्ण मुलुकमा सूचीकृत भएको छ । राजधानी काठमाडौं विश्वका प्रदूषित शहरमध्ये एक मानिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा काठमाडौंको वायु प्रदूषणको मात्रा ५ गुणा बढी छ । नेपालमा वायु प्रदूषणको जोखिमबारे विभिन्न संस्थाले डरलाग्दो तथ्यांक प्रस्तुत गर्दै आएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले देशका विभिन्न स्थानमा धूलोको मापन गर्दा काठमाडौं सबैभन्दा प्रदूषित शहर रहेको देखिएको छ भने दोस्रोमा लुम्बिनी र तेस्रोमा सौराहा बढी प्रदूषित रहेको देखिएको छ । उसो त नेपालका अन्य शहरहरु पनि कम प्रदूषित छैनन् ।

नेपालमा वार्षिक १० हजारभन्दा बढी मानिस वायु प्रदूषणजन्य रोगकै कारण मर्ने गरेका छन् । जसमा ७२ प्रतिशत मुटुजन्य रोग, १४ प्रतिशत दम, खोकी र श्वासप्रश्वासजन्य, १४ प्रतिशत फोक्सोलगायत क्यान्सरका कारणले मृत्यु हुने गरेका छन् । राजधानी काठमाडौंलगायत शहरको ५० प्रतिशत प्रदूषण गाडीको धुवाँका कारणले हुने गरेको छ । विभिन्न तथ्यांकले वायु प्रदूषणको खतरा औँल्याए पनि सरकार यस विषयमा संवेदनशील बन्न सकेको छैन ।

प्रदूषणको बढ्दो प्रकोपले पैदलयात्रीदेखि सवारी प्रयोगकर्तामात्र होइन, सडकवरपर रहेका सबैजनाले सास्ती पाइरहेका छन् । सडक भत्किँदा उडेको धूलो, थोत्रा गाडीको चाप र न्यून गुणस्तरको पेट्रोलियम पदार्थको समिश्रणले नेपालका शहरदेखि गाउँसम्म धुवाँको चिम्नीमा परिणत भइरहेकोे छ । धूलो छेक्न प्रयोग गरिएको मास्क साँझसम्म कालो बन्ने गरेबाटै नेपालका शहरमा प्रदूषणको अवस्था जान्न सकिन्छ ।

अहिले ६० प्रतिशत नसर्ने रोगका कारण मानिसहरु मरिरहेका छन् । नसर्ने रोगको प्रमुख कारण वायु प्रदूषण नै मानिएको छ । सफा, स्वच्छ र सुन्दर शहरको परिकल्पना गर्ने सरकारले यस्तो समस्या समाधानमा ध्यान नदिँदा राजधानी बस्नयोग्य शहर बन्न सकिरहेको छैन । नेपालमा बर्सेनि १४ प्रतिशतका दरले गाडीको संख्या थपिँदै गएको छ । २० वर्ष पुराना गाडी नियन्त्रण नभएसम्म यस्तो समस्या समाधान हुन सक्दैन । सरकारले जनस्वास्थ्यमाथि खेलबाड हुँदै आएको थोत्रा गाडीको प्रदूषण नियन्त्रण गर्नेतर्फ गम्भीर बन्न सकेको छैन ।

सरकारले केही वर्षअघिदेखि सवारीसाधनको प्रदूषण मापन गर्न हरियो स्टिकर वितरण गरेको थियो । तर, त्यसको सही कार्यान्वयन हुन सकेन । यतिसम्म कि धुवाँको मुस्लो फाल्ने गाडीमा समेत हरियो स्टिकर लगाउने प्रवृत्ति बढेर गयो । जसले गर्दा प्रदूषण मापन प्रभावकारी हुन सकेन । प्रदूषण बढाउने सवारीसाधन निस्फिक्री कुदिरहँदा ट्राफिक प्रहरीले कडाइका साथ कारबाही गर्न पनि सकेन । चिकित्सकहरुले वायु प्रदूषणका कारण मुटु, मृगौला, मधुमेह, रुघाखोकी, पिनास, घाँटी र कानको संक्रमण, फोक्सोमा दम, निमोनिया, घाँटी र फोक्सोको क्यान्सर हुने जनाएका छन् । यस्तो जोखिम घटाउन पुराना सवारीसाधन यथाशक्य चाँडो विस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्छ ।

पछिल्लो समय वातावरणविद्हरुले राजधानीमा विद्युतीय बस चलाउन सुझाव दिँदै आएका छन् । विद्युतीय बस इन्धनबाट चल्नेभन्दा निकै किफायती हुने भएकाले इन्धन आयातमा देशको आर्थिक व्ययभारसमेत कम गर्न सकिन्छ । सातै प्रदेशका सरकारले पनि गाडीबाट हुने प्रदूषण न्यूनीकरण गर्न जनताको स्वास्थ्यप्रति ध्यान दिँदै बिजुलीबाट चल्ने सार्वजनिक बस चलाउन उत्प्रेरित गर्नु आवश्यक छ ।
– राकेश पौडेल नुवाकोट, हाल ः बालाजु ।

प्रतिक्रिया दिनुहोस्