पार्टी कसैको बपौति होइन, नेपाली जनताको होः सभापति देउवा



पर्सा ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने स्पष्ट पार्नुभयो ।

सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिनुभयो ।

“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही भएरै जाने,” सभापति देउवाले प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारको कमी कमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि सङ्र्घषमा होमिन काङ्ग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि सरकार बेखबर रहेकोे आरोप लगाउनु भयो ।
रासस

प्रतिक्रिया दिनुहोस्