गाँउपालिकामै स्वास्थ्य प्रयोगशाला



धनवीर दाहाल, रुकुम ।
बिरामीका लागी रगत, दिशा, पिसाव चेकजाँच गर्नका लागी जिल्ला अस्पताल तथा निजि स्वास्थ्य संस्थामा धाउनु पर्ने अवस्था अव त्रिबेणी गाँउपालिकाको लागी अन्त्य भएको छ । रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकाले खारानेटामा प्रयोग शाला स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र खारानेटामा रहेको स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको हो ।

गाउँपालिकामै प्रयोगशाला स्थापना भएपछि यस क्षेत्रका स्थानीयलाई रगत, दिशा, पिसाव चेकजाँच गराउन सहज हुने भएको छ । यसअघि यहाँबाट ल्याव टेष्टका लागि सदरमुकाममा रहेको जिल्ला अस्पताल सल्ले वा सल्यानको श्रीनगर जानुपर्ने बाध्यता रहेको थियो । रगत चेक गराउन पनि जिल्ला अस्पताल सल्ले वा सल्यानको श्रीनगर जानुपर्ने बाध्यता हटेपछि यहाँका सर्वसाधारणलाई सहज भएको त्रिवेणी गाउँपालिका –३ का पलबहादुर गिरीले बताउनुभयो ।

गाउँमै ल्याब टेष्ट हुँदा जटिल समस्या देखिएमा राम्रो अस्पताल जाने र सामान्य भए यहिँ उपचार हुने भएकोले स्थानीय खुसी भएका हुन् । यहाँ ल्याब टेष्ट गरेपछि त्यसको रिपोर्टका आधारमा काठमाडौंमै डाक्टर राखेर फोनमार्फत परामर्श दिने भन्दै टेलिमेडिशिनको अवधारणा अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा ल्याब स्थापना भइरहेका छन् ।

गतवर्ष नेपाली सेनाले निर्माण गरेर त्रिवेणी गाउँपालिकालाई हस्तान्तरण गरेको यस स्वास्थ्य चौकीमा प्रयोगशाला हेर्नेगरी गाउँपालिकाले एकजना ल्याब असिष्टेन्ट करारमा नियुक्ति गरेको गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा ल्याब स्थापना गर्ने नेकपाका नेता एवं रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सांसद जनार्दन शर्माको चुनावी घोषणाको कार्यान्वयन स्वरुप यस गाउँपालिकामा पनि ल्याव स्थापना भएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाको केन्द्रमा भएकोले यसको विकास गरेर सेवा सुविधा थप्दै लैजाने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्