प्लेअफका चार टोलीको टुङगो



धनगढी, (नेस)
रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।

काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड शीर्ष चारमा रहँदै प्लेअफमा पुगेका हुन् । काठमाण्डौ ७ अंकसहित शिर्ष स्थानमा रहँदा अत्तरिया ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यी दुईबीचको खेलले शीर्ष दुईमा रहने टोलीको दुंगो लाग्नेछ । समान ६ अंक भएपनि रुपन्देही रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर र विराटनगरको समान चार अंक भएपनि नेट रनरेटका आधारमा महेन्द्रनगरले प्लेअफको यात्रा तय गरेको छ ।

सोमबार भएको खेलमा विराटनगर अत्तरियासँग पराजित हुँदै शीर्ष चारबाट बाहिरिएको हो । विराटनगरलाई १० रनले हराएको अत्तरीया प्लेअफमा पुग्यो । यो नतिजाले महेन्द्रनगरलाई पनि प्लेअफमा पु¥यायो ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । यो जारी प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर हो । टोलीका लागि सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतक बनाए । बिस्फोटक ब्याटिङ गरेका सन्नीले ३१ बलमा ५ चौका र ४ छक्का हान्दै अविजित ६१ रन जोडे । उनले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गर्नु नै टोलीले ठूलो स्कोर बनाउन मद्दत पुगेको थियो ।

सन्नी जारी प्रतियोगितामा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी हुन् । यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । अर्धसतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३८ रनमा समेटियोे । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बास्कोटाले २७ रन जोडे । अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।

यसअघिको खेलमा रुपन्देहीले डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई ३९ रनले हराएको थियो । पहिल्यै प्लेअफबाट बाहिरिएको धनगढी जारी प्रतियोगितामा जितविहीन बन्यो । बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले १५ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायो । हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा खेलाईएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान २÷२ विकेट लिए ।

रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्