व्यवसायी बन्दै शिक्षित युवा



हिक्मत नेपाली, दैलेख ।
दैलेख, भैरवी गाउँपालिका–१ का मोहन पौड्यालले झण्डै २० हजार बोटबाट अलैची व्यवसाय सुरु गरे । अलैची खेतीबाट आम्दानी हुन थालेपछि उहाँले छुर्पी उद्योग समेत थपे । अलैची खेती हुँदै छुर्पी उद्योग संचालन गरेका पौड्यालले छुर्पी उद्योगबाट मात्रै मासिक १ लाख रुपैयाँ आम्दानी गर्छन् । छुर्पी उद्योगमा दैनिक १ सय ५० लिटर दुध खरिद गरिरहेको पौड्यालले बताए । ‘दुर्गम र विकट क्षेत्र भएकाले दुध ढुवानीका लागि ३ वटा घोडा किनेको छु जसले दैनिक दुध दुवानी गर्छ,’ उनि भन्छन् ‘प्रतिलिटर ४५ रुपैयाँमा दुध खरिद गर्नेभएपछि भैसी पालन गर्ने किसानहरुको व्यवसायप्रति आकर्षण बढेको छ ।’

गुराँस गाउँपालिका–८ गर्चाका भुपेन्द्र खड्काले ६० रोपनीमा १० हजार अलैचीका बोट लगाए । उनले अलैची लगाएको दुई बर्षसम्म उत्पादन सुरु नभएपनि तेस्रो बर्ष देखि बार्षिक २० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । जिल्लाको एक सहकारी संस्थामा कार्यरत खड्काको अलैची फर्ममा ३ जनाले रोजगारी पाएका छन् । सहकारीको लोभलाग्दो जागिर छोडेर कृषि पेशा अगाल्ने उनको योजना छ ।
नारायण नगरपालिकाको – ९ का युवाहरु धर्मराज खड्का र इन्द्रजीत अधिकारीको संयुक्त साझेदारीमा ‘हाम्रो बाख्रा पालन फर्ममा डेढ सय बढि बाख्रा पालन व्यवसायको सुरुवातका लागि पूर्वाधार निर्माण गरिरहेको छन् ।

धर्मराज पेशाले सूचना प्रविधिको क्षेत्रमा काम गर्नुहुनछ भने इन्द्रजीत ग्लोबल विजनेशमा जापानबाट स्नातक गरिरहेका छन् । खड्का र अधिकारी दुवैले कृषि तथा पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नतजातको बाख्रा उत्पादन तथा बिक्रि वितरण गर्ने योजना रहेको बताए । ‘राज्यले व्यवसाय संचालनका लागि अनुदान, ऋण लगाएका सुविधाहरु दिनुपर्छ,’ धर्मराजले भने ‘गाउँमै रोजगारी र आम्दानी लिन व्यवसाय कोशेढुंगा सावित हुनेछ ।’ करिब २५ लाखमा फर्म निर्माण गर्न लागिएको र फर्ममा ४ जनाले रोजगारी पाएको धर्मराजको भनाई छ ।

भगवतीमाई गाउपालिका–३ मेहेल्तोलीका २५ वर्षे युवा खगेन्द्र रेग्मीले २० लाख लगानीमा आफ्नै ६० रोपनी जग्गामा बाख्रा, कुखुरा र माछा पालन व्यवसाय सुरु गरे । उनी कृषि प्राविधिक समेत हुन् । उनका बुबा भिम प्रसाद रेग्मीको इच्क्षा छोरालाई कृषि व्यवसाय पढाएर सरकारी जागरि खुवाउने थियो तर खगेन्द्र भने कृषि तथा पशुपालन व्यवसाय तर्फ आकर्षित भए । खगेन्द्र पछिल्लो युवा पुस्ताका सफल व्यवसायी हुन् । कृषिमा सम्भावना देखेपछि बाख्रा पालन व्यवसाय सुरु गर्नुभएका खगेन्द्रले बंैकको महंगो कर्जा तिर्न समस्या भइरहेको बताए । सस्तो कर्जा पाए व्यवसाय विस्तार गर्न सहज हुने उनको भनाई छ ।

भगवतीमाई गाउँपालिका –४ का पृथ्वी बहादुर केसीले सुरु गरेको राँगा पालन व्यवसाय अहिले फस्टाएको छ । बजारमा राँगाको माग बढ्दै गएपछि छोराले गरेको व्यवसाय प्रति उनका बुबा पदम बहादुर खत्रीको आकर्षण समेत बढेको छ । केसीले एक बर्ष अघि एभ्रिल भैसीपालन फर्म मार्फत राँगा पालन व्यवसाय गरेका छन् । बालकृष्ण अधिकारी र केसीको संयुक्त साझेदारीमा सञ्चालित भैरीमालिका एग्रो प्रा.लि. मार्फत एकिकृत रुपमा कृषि तथा पशु पालन व्यवसाय गर्न लागिएको छ । विगत १० बर्ष देखि रोजगारीको शिलसिलामा कतार रहनुभएका अधिकारीको अब गाउँमै केहि गर्ने इच्क्षा जागेको छ । एकिकृत कृषि तथा पशुपालन अन्तर्गत टिमुर, लोकल कुखुरा, उन्नत जातको बाख्रा, मौरी र माछापालन लगायतका व्यवसाय संचालन गर्ने तयारी गरेको केसीले बताए ।

आफ्नै गाउँमा रोजगारीका सम्भावनाहरु नदेखेर युवा जनशक्ति विदेशीरहेको बेला दैलेखका केही युवाहरु भने व्यवसायीक रुपमै कृषि तथा पशुपालन व्यवसायमा जुटेका हुन् । गाउँमै भविष्य रहेको उनिहरु बताउँछन् । यि युवाले गाउँमै अर्गानिक उत्पादन देखि आम्दानी समेत गर्दै आएका छन् । गुजरामुखी खेती प्रणालीलाई विस्थापित गरी व्यवसायीमुलक सामूहिक कृषि तथा पशुपालन व्यवसायमा युवाहरु जुटेका हुन् । व्यवसाय गर्ने युवाहरुको पहुँचमा कृषिकर्जा नभएको व्यवसायमा लागेको युवाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्