प्रणय दिवसलाई भद्र बनाउन जरुरी



अंग्रेजी वर्षको फेब्रुअरी महिनाको आगमनसँगै प्रणय दिवसको विश्वव्यापी चर्चा हुनुका साथै भ्यालेन्टाइन्स डे सबैको साझा पर्व जस्तो हुन पुगेको छ। हरेक दिन केही न केही दिवसका रूपमा मनाइँदै आए पनि यस दिवसले महŒवपूर्ण स्थान लिने गरेको पाइन्छ। नेपालमा यो दिवस मनाउन थालिएको एक दशक मात्रै भए पनि नेपाली समाजमा यसको प्रभाव पूर्णरूपमा परिसकेको छ। प्रायः नेपाली क्यालेन्डरअनुसार फागुन २ गते पर्ने यो दिवसको प्रभाव गाउँ–सहर, होटल–रेस्टुराँ, पार्क–बगैंचा, नदी, पुल, सपिङ सेन्टरलगायत सबै स्थानमा देख्न पाइन्छ। उसो त, यस दिवसको प्रभाव साताभरि नै जारी रहने गर्छ।
यसै दिवसलाई आधार मानेर सौराहालगायतका पर्यटकीय क्षेत्र तथा व्यावसायिक संस्थाहरूले विभिन्न सांगीतिक, मनोरञ्जनात्मक, खेलकुद तथा फुड फेस्टिवल जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। प्रणय दिवसको अवसर प्रायः युवायुवतीका लागि विशेष पर्व जस्तै हुँदै आएको छ। प्रणय दिवस आउनुभन्दा अगावैदेखि यसैको स्मरणमा विभिन्न कार्यक्रम तय भएका हुन्छन्। घुमफिर, खानपिन, मनोरञ्जन र प्रेमालापका शृंखला चलिरहे पनि यसको ज्वरो भने पछिसम्म नै रहिरहेको देखिन्छ।

सन्त भ्यालेन्टाइनलाई शाश्वत् प्रेमको प्रतीक मान्दै युवायुवतीदेखि बूढाबूढीसम्मले यस दिवसप्रति विशेष चासो र सरोकार राख्ने गरेका छन्। प्रेम शाश्वत् छ र यसका कारण नै मानवता जीवित रहने विश्वास गरिन्छ। वर्तमान समयमा एक–अर्काप्रति घृणाको भाव वृद्धि भइरहेको सन्दर्भमा सच्चा प्रेम अपरिहार्य हुन गएको छ। हामीमाझ समस्याका पहाड दिन प्रतिदिन थपिँदै गइरहेका छन्। यो नेपाली समाजको मात्रै चित्रण होइन, समग्र राजनीतिमा देखिएको समस्या पनि हो।

मुलुकमा राजनीतिक परिवर्तनपश्चात् पनि न शासक वर्गमा प्रेम छ, न विपक्षीहरूमा नै अनुराग। वर्तमान परिप्रेक्ष्यमा तमाम समस्या हल गर्न शक्तिशाली प्रेमकै खाँचो छ। सहकार्य, सहमति र एकताको राजनीतिबाटै देशको हित हुन्छ र जनतामा आशाको सञ्चार हुन्छ। घृणाले तिरस्कार र विकर्षण भाव पैदा गराउँछ। हुन त, भ्यालेन्टाइन्स डेलाई युवायुवतीको प्रेम साटासाट गर्ने अवसरका रूपमा लिने गरिए पनि यो विशेष दिनले शाश्वत् प्रेमलाई नै अनुशरण गरेको देखिन्छ। नेपालको परिवेशमा सम्बन्धहरू बलियो हुन नसकिरहेको अवस्था विद्यमान छ। देखासिकीरूपमा गाँसिने प्रेम दिगो बन्न नसकेका दृष्टान्त पनि थुप्रै छन्। सामाजिक सञ्जालको बढ्दो उपस्थितिका कारण प्रेम सम्बन्ध जति छिटो विकसित हुन्छन् त्यत्तिकै मात्रामा टुटेका उदाहरण पनि छन्। प्रणय दिवसले प्रेम सम्बन्धलाई अमर बनाउन सक्नुपर्छ।

प्रेम गर्ने जोकोहीले आफ्नो जोडीबाट माया प्रेम, सम्मान र इज्जतको चाहना राखेको हुन्छ। विश्वासको संकट, शंका, हेपाइ, बेवास्ता र लापर्बाही जस्ता कुराहरू सम्बन्ध टुक्र्याउने कारक मानिन्छ। प्रेम गर्नेहरूले यस्ता आधारभूत कुराहरूलाई सधैं ख्याल राख्दै आफ्नो प्रेम सम्बन्धलाई थप कसिलो, दिगो र विश्वासिलो बनाउन सक्नुपर्छ। प्रणय दिवसको सान्दर्भिकता व्यापक भएकाले यस विशेष दिनलाई दुरूपयोग गरेर होइन स्मरणीय बनाउन सक्नुपर्छ। हरेकका जीवन प्रेममय हुने हो भने जस्तोसुकै चुनौती पनि पार लगाउन सकिन्छ। प्रेमविहीन यात्राको कुनै गन्तव्य हुँदैन। वास्तवमा, प्रेम जीवनप्रतिको महान् आकर्षण मात्र होइन, शिष्ट र विशिष्ट अनुशरण पनि हो। जसको जीवनप्रति नै आकर्षण छैन उसको प्रेम यात्रा असफलतामा परिणत हुन सक्छ। आगामी दिनमा यो दिवसको गरिमा र महŒवलाई बोध गरेर सबैले जीवनमुखी र समयमुखी बनाउन सके प्रणय दिवस अझै सार्थक बन्नेछ।
– बाबुराम भट्टराई, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्