श्रीमानविरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता



विमल विष्ट, डोटी ।
डोटीको शिखर नगरपालिका वडान ६ बस्ने बर्ष ४६ को डिल्लीराज फुलारा बिरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफुलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छन् । आफना श्रीमानले आफुलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यहि फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरिक्षक सुरेन्द्रबहादुर बमले बताउनु भयो । उहाँले भन्नुभयो, “श्रीमानले जवरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएकोछ,हामीले श्रीमानलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान सुरु गरीरहेका छौँ ।”

आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरिक्षक बमका अनुसार श्रीमतीले दिनु भएको निबेदन अनुसार कसुर प्रमाणित भए निज श्रीमान डिल्लीराज फुलारालाई २ बर्ष ६ महिना जेल सजाया हुन सक्ने नियम रहेको जानकारी दिनुभयो । डिल्लीराज र कल्पना बिच बिबाह भएको करिब ८÷९ वर्ष भएको र उनिहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेको खुलेको प्रहरीले जनाएको छ । बिबाह भएको यतिलामो समय पछि किन श्रीमतीले श्रीमान बिरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता गरीन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानियबासीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्