इजिप्टका राष्ट्रपति सन् २०३४ सम्म सत्तामा रहने !



कायरो, (एजेन्सी)
इजिप्टको संसदले अत्यधिक बहुमतसहित राष्ट्रपति अब्दुल फत्ताह अल–सिसीलाई अर्को १२ वर्षसम्म सत्तामा टिकाउने संवैधानिक परिवर्तनसम्बन्धी मस्यौदालाई अनुमोदन गरेको छ। वास्तवमा आफ्नो ४ वर्षीय दोस्रो कार्यकाल सकिएपछि सन् २०२२ मा सिसी सत्ताबाट बाहिरिनुपर्ने अवस्था रहेको थियो।
तर, इजिप्टका कुल ५ सय ९६ जना विधायकमध्ये ४ सय ८५ जनाले बिहीबार राष्ट्रपतिको कार्यकाल ६ वर्ष पु¥याउने सम्बन्धमा मतदान गरेका थिए। जसका कारण अब सिसीले अर्को २ वर्ष सत्तामा रहने मौका पाएका छन्।

थुपै्र इजिप्सियन मानव अधिकारवादी समूहले यस निर्णयविरुद्ध आवाज उठाएका छन्। यसै महिनाको शुरूमा मात्र यस परिवर्तनका लागि संसद्मा प्रस्ताव अघि सारिएको थियो। संसद्मा हुने अर्को मतदानमा यसलाई विधेयकका रूपमा पारित गरिने भएको छ।

यदि कानुनका रूपमा विधेयक पारित भएको खण्डमा इजिप्टले जनमत संग्रहको आयोजना गर्नेछ। सन् २०१४ मा जनमत संग्रहबाट अनुमोदित इजिप्टको संविधानको धारा १ सय ४० अनुसार अहिलेसम्म राष्ट्रपतिको कार्यकाल ४ वर्षमात्र तोकिएको तथा उनी एकपटक मात्र पुनः निर्वाचित हुन पाउने व्यवस्था रहेको छ।

तर, परिवर्तनका लागि प्रस्तावित मस्यौदाअनुसार अब ६४ वर्षीय नेता सिसी आगामी सन् २०३४ सम्म सत्तामा रहन सक्नेछन्। साथै उनले न्यायाधीश र सरकारी वकिलहरू नियुक्त गर्ने अधिकार पनि पाउने भएक छन्।

यी परिवर्तपछि इजिप्टको सैनिक बोर्डले संविधानको सुरक्षाका लागि बृहत् अधिकार पाउनेछ। संविधान संशोधनको अर्को बुँदामा संसद्मा महिलाको कोटा २५ प्रतिशत पु¥याउनु र अल्पमत कोप्टिक क्रिस्चियन, युवा र अशक्त व्यक्तिको प्रतिनिधित्व कायम गर्नु रहेको छ।

पूर्वसेना प्रमुख सिसीले सेनाको नेतृत्व गर्दै सन् २०१३ मा इजिप्टको पहिलो प्रजातान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरेका थिए। त्यति बेला मोर्सीविरुद्ध लामो समयसम्म भएको जनप्रदर्शनपछि सेनाले हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया दिनुहोस्