दाल, भात, रक्सी र कमिसनमा गुडिराखेको मुलुक



रमेश केशरी वैद्य, छत्रपाटी, काठमाडौं
संसारमा कुनै पनि प्राणी उनीहरुको क्षमताअनुसार चलाख नै हुन्छन् । किनकि भगवान्ले हरेक प्राणीको खप्परमा केही न केही दिमाग दिएका हुन्छन् । सबै प्राणीमध्ये मानिसमा अलि बढी नै दिमाग राखेको हुन्छ । तर हाम्रो नेपालको राजनीतिक क्षेत्रमा भने यसमा संलग्न मानिसमा दिमाग भएर पनि मुलुकको लागि केही एड्भेन्चर अर्थात् चमत्कार गरौं भन्ने भावना कमै पाइन्छ । यसका पनि केही कारणहरु छन्, जुन सरकार आए पनि त्यहाँका व्यक्तिहरुको व्यक्तिगत आकांक्षा बढी हुन्छ । कुरा बढी काम शून्यजस्तै हुन्छ ।

सानो सोच हुन्छ । ज्ञान र चाहिने कुरामा कडाइ कम हुन्छ । आफू सत्तामा बसुन्जेल झुट्टो आश्वासन र राम्रा भाषण दिने गर्दछन् । तर ठूला–ठूला राष्ट्रिय पूर्वाधार विकास र उद्योग व्यवसायी जो मुलुकमा विकास गर्न चाहन्छन्, उनीहरुलाई नानाथरीका अंकुश लगाइराखेका हुन्छन् । यसैको प्रतिफल हो, ठूला–ठूला कार्यहरु अधुरा रहने, ठेकेदारहरु कुलेलम ठोक्ने, प्रोजेक्टहरु अलपत्र रहने र लगानीकर्ताहरु डराएर लगानी नगर्ने । यसो भएपछि कहाँबाट हुन्छ द्रुत गतिमा विकास ?

यस्तो अवस्थामा न सरकार कडा हुन सक्छ, न कोही बोल्छ, न कसैले गल्तीहरुको जिम्मा लिन्छ । अब दोष कसलाई दिने ? यसलाई एकदम घिन लाग्दो संस्कार मान्न सकिन्छ । वास्तवमा भन्ने हो भने, हाम्रो जस्तो सुन्दर मुलुकमा सानो सोच र अन्ध विकास लिएर बाँच्ने मान्छेहरु धेरै छन् । यिनीहरु प्रायः चाहँदैनन् मुलुक अगाडि बढोस् भन्ने । यिनीहरुलाई सिर्फ दाल, भात, रक्सीसँग सरोकार छ, बाँकी सब जेसुकै होस् । कुरा बढी पनि यिनीहरुकै हुन्छ । यो भन्दा पनि अझ हानिकारक हुन् मलाई कति कमिसन आउँछ भन्ने सोच भएका मानिसहरु । हाम्रो देशमा यस्ता व्यक्तिको कमी छैन । एउटा बिग्रेको गोलभेंडाले धेरै गोलभेंडाहरु खराब बनाउँछ । अहिले मुलुकमा भइराखेको रोग पनि यही हो । त्यसकारण यस्ता खराब संस्कारहरु सबै मिलेर निर्मूल गर्नु आवश्यक छ ।

यो मुलुकमा एउटा विडम्बना के छ भने, जुन सरकार आए पनि भ्रष्टाचार बढेकै छ । जतिसुकै भ्रष्टाचार भए पनि पछि गएर फासफुस हुने गरेको छ । तल्ला कर्मचारीहरु निर्धक्कसाथ अख्तियार र मिडियाको साथ सामना गरिराखेका हुन्छन् । यस्तो कानुन फितलो भएको मुलुकमा यहाँनिर आएर सारा देश चलाउनेप्रति शंकाको दृष्टिले हेर्न बाध्य हुन्छ आमनागरिक । कारण यो मुलुकमा भ्रष्टाचारको नौटंकी कैयौंपल्ट हेरिसकेको छ यहाँको समाजले । तर सरकारी व्यक्तिहरुलाई यस्ता कुराले लाज पचिसकेको हुन्छ ।

समग्रमा भन्नुपर्दा हामी व्यक्ति–समाज नकारात्मक, स्वार्थी र कुनै न कुनै बहानामा खन्चुवा मात्र नबनौं, मुलुकप्रति पनि केही योगदान दिऔं । हुन त हाम्रो मुलुकमा पहिलाको अनुपातमा विकास पनि केही भएर गइराखेको छ, तर यो नपुग छ । यसबाहेक हामीले सरकारको सोच र मनलाई कसरी ठूलो र सकारात्मक बनाउने ? र, मुलुकलाई द्रुत विकास र अरु मुलुकको दाँजोमा कसरी लैजाने ? भन्ने सोचतर्फ सबैको ध्यान आकर्षण गराउन जरुरी छ । तर एकपल्ट फेरि भन्नुपर्दा, दुःख लाग्दो कुरा यो छ कि यहाँ दाल, भात, रक्सी र कमिसनले गर्दा आफ्नो दायित्व भुल्नेहरु धेरै छन्, जसले गर्दा राम्रा व्यक्तिहरुलाई काम गर्न अप्ठ्यारो परिराखेको कुरा सबैले महसुस गरेका छन् ।

अहिले मुलुक सुस्त र बिरामीजस्तै भइराख्नुलाई यो एउटा ठूलो कारण मान्न सकिन्छ । यस्तो बेला हामी भन्न सक्छौं कि भगवान्, समय र भविष्यसँग नडराउने यिनीहरुजस्ता नै व्यक्ति हुन् । यिनीहरुले जीवनमा तमासा हेर्ने, कुरा काट्ने, अज्ञानतामा नै आफ्नो समय बिताइराखेका हुन्छन् । यसको असर सकारात्मक सोच भएका राम्रा मानिस र मुलुकलाई परिराखेको हुन्छ । त्यसकारण अब आएर सरकार र समाज परिवर्तन हुनुपर्दछ राष्ट्रको लागि । यसका निम्ति बढी कुरा, गफ र अल्छीपना त्यागेर जाँगर तथा अनुशासन पैदा गर्ने संस्कार ल्याउनपर्छ ।

प्रतिक्रिया दिनुहोस्