प्रदेश ५ का सबै मन्त्री सडकमा



यमलाल भुसाल, बुटवल ।
प्रदेश–५ ले स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउनशुरु गरिएको छ । फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना दिवस मनाउने निणर्य प्रदेश सरकारले गरे अनुसार फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन शुरु गरिएको हो ।

यस्तै प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा प्रदेश सकरले गरेको छ ।
विहिवार पुर्वपश्चिम राजमार्गका मुख्य ६ स्थानमा प्रदेश सरकारका मन्त्रीहरुको नेतृत्वमा बिशेष सरकारसफाई गरी स्थापना दिवसको मनाउन सुरु गरिएको छ ।

बिहान प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित ६ जना मन्त्री बिभिन्न जिल्लामा सरसफाईमा सहभागि हुनु भएको छ । मुख्यमन्त्री पोखरेल बुटवलको मनकामना चोकबाट, आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी कोहलपुर चोक बाँकेबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी भुरिगाउँ, बर्दियाबाट, सामाजिक विकासमन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी हुनु भएको हो ।

बुटवलमा सरसफाई अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नम्वर ५ लाई सरसफाईयुक्त प्रदेश बनाउने र त्यसको अभियान मुख्य राजमार्गबाट सुरु गरिएको बताउनु भयो ।

उहाँले स्थानीय तहको समन्वयमा सार्वजनिक बिदाको दिनमा राजमार्ग तथा सडक सरसफाई अभियान चलाउने बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले प्रदेस सरकारसंग मिलेर उपमहानगरपालिकालाई सुन्दर सफा र हरियाली बनाउने बताउनु भयो ।

सरसफाई अभियानमा जनप्रतिनिधि,संघ सस्थाका प्रतिनिधि, निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सहित स्थानीय सहभागि भएका थिए ।

मुख्यमन्त्री पोखरेल अन्य सहभागिसंगै करिव एक घण्टा मनकामना मन्दिरदेखि तिनाउ पुलसम्म सडक सफाईमा जुटनु भएको थियो ।
प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा प्रदेश सरकारले गरेको छ ।

शुक्रवार बिहान ८ वजे बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा जम्मा भई र्याली सुरु हुनेछ । बुटवल मण्डपमा आयोजना हुने मूल समारोहमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली गर्न निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्