घटना नहुँदै सचेत होऊ



हाम्रो देशमा विपत व्यवस्थापनको लागि पूर्वतयारी प्रभावकारी देखिँदैन । समयमै सचेतना नअपनाउँदा बर्सेनि विभिन्न घटना दोहोरिरहेको पाइन्छ । नेपालमा घटना हुनै नदिनभन्दा पनि भैसकेपछि न्यूनीकरणका योजना बुन्ने चलन पुरानो हो । हरेक वर्ष वर्षायामा बाढी–पहिरो जान्छ र ठूलो धनजनको क्षति हुन्छ । बाढी–पहिरो नियन्त्रण र क्षति न्यूनीकरणको लागि हिउँदमै काम हुँदैन । यस्तै हरेक वर्ष चिसोको कारण आमजनता समस्यामा पर्छन् । गर्मी महिनामै चिसोबाट बच्ने उपायको बारेमा पर्याप्त सचेतना अपनाइँदैन । वर्षा याममा बाढी–पहिरो आउनुअघि नै भल नियन्त्रण, तटबन्ध निर्माण, सुरक्षित बस्ती निर्माणमा ध्यान नदिई क्षति पु¥याइसकेपछि मात्र न्यूनीकरणको उपाय अपनाउने गरेको देखिन्छ । त्यस्तै आगलागीका घटनामा पनि घटना भैसकेपछि मात्र समाधान खोज्ने चलन छ ।

हाम्रो देशमा हरेक वर्ष गर्मी महिना शुरू भएसँगै आगलागीका घटनाको कारण ठूलो जनधनको क्षति हुने गरेको छ । तर, आगलागीका घटना न्यूनीकरणको लागि पर्याप्त मात्रामा पूर्वतयारी भएको पाइँदैन । विशेष गरी फागुनदेखि जेठसम्म मौसमी तापक्रम बढ्ने भएकोले पनि यो समयमा धेरै आगलागीका घटना हुने गरेको पाइन्छ । आगलागीका घटनामा क्षति बढ्नुको कारणमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियाता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्नेजस्ता थुप्रै कारण छन् ।

विगतमा भएका आगलागीका घटनालाई केलाउने हो भने धेरैजसो सानो मानवीय गल्तीको कारण हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापर्वाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोत्तर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, घाँस पलाउने नाममा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ । पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युत्को पोल तथा लाइनको नियमित मर्मत–सम्भार नगर्दा पनि कतिपय ठाउँमा आगलागीका घटना भएको पाइन्छ ।

शहरी क्षेत्रमा भने खाना पकाउने ग्यासको कारण, विद्युत् लाइनका कारण धेरैजसो आगलागीका घटना भएको पाइन्छ । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीको घटनामा धेरै नोक्सानी भएको पाइन्छ । साथै साँघुरो बाटो, बाक्लो बस्ती, समयमा अग्नि नियन्त्रक यन्त्र पु¥याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पु¥याएको देखिन्छ । आगो नियन्त्रणको लागि पानीको समस्या प्रमुखरूपमा रहेको छ । घटना घट्नुअघि नै सचेतना अपनाएमा आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । यसको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारको ध्यान जानु आवश्यक छ । साथै सरोकारवाला निकाय र सर्वसाधारणसमेतले समयमै सचेतना अपनाए आगलागी, हावाहुरीजस्ता गर्मी मौसममा हुने घटनामा क्षति न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्