भेनेजुयलाका विपक्षी नेतालाई लिमा समूहको समर्थन



काराकास, (एजेन्सी)
क्यानाडालगायत ल्याटिन अमेरिकी राष्ट्रहरुको एक समूहले मंगलबार भेनेजुयलाको सेनालाई आफैंलाई अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता हुवाँ गुआइदोलाई समर्थन गर्न आ≈वान गरेको छ।

उक्त चौध सदस्यीय लिमा समूहको एघार सदस्य राष्ट्रले एक विज्ञप्ति जारी गर्दै बिनाकुनै शक्ति प्रयोग गरी सत्ता परिवर्तन गर्न र तत्काल मानवीय अत्यावश्यक वस्तु जनतालाई उपलब्ध गराउन भेनेजुयलालाई आग्रह गरेको छ।

गत महिना स्वयम्लाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइदोले अमेरिकालगायत विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरुको समर्थन प्राप्त गरिसकेका छन्। तर राष्ट्रपति निकोलस माडुरोले आफूनै वैधानिक राष्ट्रध्यक्ष भएको अडान लिँदै आएका छन्।

बेलायत, फ्रान्स, जर्मनी र स्पेनसमेत युरोपेली संघका करिब १६ देशले गुआइदोलाई देशको अन्तरिम राष्ट्रपतिको रूपमा आधिकारिक मान्यता दिएको छ। चीन र रसियालगायत विश्वका थुप्रै राष्ट्रको समर्थन प्राप्त माडुरोले राष्ट्रको जटिल बन्दै गइरहेको राजनीतिक संकटको कारण गृहयुद्ध शुरू हुने सम्भावना रहेको चेतावनी दिएका छन्।

विवादास्पद चुनावमा विजयी भएपछि माडुरोले गत महिना राष्ट्रपतिको दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका थिए। उक्त चुनावमा अधिकांश विपक्षी नेतालाई चुनावमा भाग लिनबाट वञ्चित गरी जेल चलान गरिएको थियो भने केहीले आफैं चुनाव बहिष्कार गरेका थिए।

त्यसैले भेनेजुयलाको राष्ट्रियसभाको अध्यक्ष भएको हैंसियतले पनि अस्थायी रूपमा सत्ता सम्हाल्न आफूसँग संवैधानिक अधिकार भएको धारणा गुआइदोले व्यक्त गरेका छन्। यसैबीच गुआइदोले माडुरोकोे गृहयुद्धसम्बन्धी चेतावनीको खण्डन गर्दै यसलाई माडुरोको कोरा कल्पनाको संज्ञा दिएका छन्। उनले माडुरोले मानिसहरुको दिमागमा डर भरिदिएको आरोप पनि लगाएका छन्।

यसैबीच गुआइदोलाई मान्यता प्रदान गर्ने देशहरुले भेनेजुयलाका जनतालाई मद्दतका रूपमा खाद्यवस्तु र औषधी प्रदान गर्ने बताएका छन्। यसका लागि ती देशले भेनेजुयलालाई करोडौं अमेरिकी डलरको बराबरको सहयोग गर्ने बताएका छन्। गुआइदोले अत्यावश्यक वस्तु जनतासम्म पु¥याउनका लागि सेनालाई सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्