विश्वविद्यालय र समृद्धिको सम्बन्ध



सुरेन्द्रप्रसाद जोशी
संसारभरि विकासको यात्रा विद्यालय र विश्वविद्यालयमा हुने सिकाइ, खोज, अनुसन्धान र आविष्कारबाट अगाडि बढ्छ । भ्रष्ट शासन व्यवस्थामा दाताहरूसँग अनुदानमा मागेर ल्याइने रेल र पानीजहाजबाट विकासको यात्राले विकासको गुणात्मक पक्षलाई आत्मसात् गर्न सक्दैन । विद्यालय र विश्वविद्यालयहरू जति व्यवस्थित, विकसित, सुसंस्कृत, निष्ठावान्, उद्देश्य उन्मुख, उत्तरदायी र जवाफदेही हुनेछन्, समृद्धिको यात्रा पनि त्यति नै गुणात्मक, सुसंस्कृत, वैभवशाली र न्यायपूर्ण हुनेछ । प्राचीन समयमा पश्चिमभन्दा पूर्व धेरै सुसंस्कृत, समृद्ध र वैभवशाली थियो । किनभने यहाँ हजारौं गुरुकुलहरू, ऋषिकुलहरू र व्यवस्थित विश्वविद्यालयहरू थिए ।

इ.पू. ७०० मा स्थापना भएको तक्षशिला विश्वविद्यालय संसारकै सबैभन्दा पहिलो विश्वविद्यालय हो । चाणक्य, वसबन्धु, कात्यायनजस्ता विद्वान्हरूले पढेको यो विश्वविद्यालय विश्वप्रसिद्ध थियो । इसाको छैटौं शताब्दीमा आक्रमणकारीहरूले यसलाई ध्वस्त पारिदिए । यो विश्वविद्यालय स्थापना भएको झन्डै १२०० वर्षपछाडि सन् ४५० को दशकमा आवासीय सुविधासहितको नालन्दा विश्वविद्यालय गुप्तवंशका शासक कुमार गुप्तले स्थापना गरेका थिए । जहाँ १० हजार छात्रहरूलाई पढाउन झन्डै २ हजारसम्म प्राध्यापकहरू रहेको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । आठौं शताब्दीको अन्त्यतिर पालवंशका राजा धर्म पालले स्थापना गरेको विक्रमशिला विश्वविद्यालय एउटा विकसित विश्वविद्यालय थियो । विराट पुस्तकालयहरूले सुसज्जित यी विश्वविद्यालयहरूमा पढ्न चीन, तिब्बत, जापान, कोरिया, इन्डोनेसिया, तुर्कीलगायतका देशहरूबाट विद्यार्थी आउने गर्थे ।

चिनिया यात्री ह्वेनसाङ सातौं शताब्दीमा नालन्दा विश्वविद्यालयमा एकवर्ष अध्ययन गरेपछि एकवर्ष अध्यापनसमेत गरेको कुरा उनका यात्रा वृत्तान्तहरूमा उल्लेख गरेको पाइन्छ । तेह्रौं शताब्दीको शुरुमा तुर्कीका शासक महम्मद विन वख्तियार खिलजीले आक्रमण गरी यी विश्वविद्यालयहरू र पुस्तकालयहरूलाई ध्वस्त पारेपछि शिक्षा, सिकाइ र खोजको त्यो व्यवस्थित परम्परा र ज्ञानलाई पुनः विकसित गर्न धेरै समय लाग्यो । जसको फलस्वरूप पूर्वआधुनिक खोज र आविष्कारको यात्राबाट पछाडि धकेलियो । जसको प्रत्यक्ष प्रभाव हाम्रो विकास र समृद्धिको यात्रामा पर्न गयो । जति बेला अहिलेका प्रख्यात पश्चिमा विश्वविद्यालयहरूमध्ये केही शुरुवाती चरणमा थिए भने केही स्थापना नै भएका थिएनन्, त्यति बेला नालन्दा र विक्रमशिला विश्वविद्यालयहरू शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विश्वभर प्रख्यात थिए ।

नालन्दा विश्वविद्यालय स्थापना भएको झन्डै ६४६ वर्षपछि (सन् १०९६ मा) अक्सफोर्ड, ७०० वर्षपछि (सन् ११५० मा) पेरिस, ७५९ वर्षपछि (सन् १२०९मा ) क्याब्रिज, ११८६ वर्षपछि (सन् १६३६ मा) हावल्र्ड विश्वविद्यालयहरू स्थापना भएका हुन् । हामी अनुमान गर्न सक्छौं कि छैटौं शताब्दीमा तक्षशिला, तेह्रौं शताब्दीको शुरुवातमा नालन्दा र विक्रमशिला विश्वविद्यालयहरू ध्वस्त नपारिएका भए अहिले पाकिस्तानको इस्लामावाद र भारतको विहार शिक्षा, खोज, अनुसन्धान र आविष्कारको केन्द्रहरुका रूपमा हुन्थे । अध्ययन अध्यापनको लागि संसारभरका प्रतिभाशाली प्राध्यापक र विद्यार्थीको पहिलो रोजाइमा हुन्थे ।

नेपाल, भारत र पाकिस्तानले अहिले समृद्धिको शिखर चुमिसक्थे । तर यी शिक्षाका केन्द्रहरू ध्वस्त भएसँगै शिक्षाको त्यो समृद्ध परम्परा फेरि हासिल गर्न धेरै समय लाग्यो । आज पश्चिमले विकास र समृद्धिको चरम शिखर चुमेको छ । किनभने प्राचीन समयदेखि आजसम्म अक्सफोर्ड, पेरिस, क्याम्ब्रिज, हावर्ड, बर्लिन र मस्कोजस्ता सुसंस्कृत र विकसित विश्वविद्यालयहरू सिकाइ, खोज र अनुसन्धानको शृङ्खलाबद्ध मार्गमा आबद्ध छन् । संसारभरका प्रतिभाशाली प्राध्यापक र विद्यार्थीको पहिलो रोजाइमा छन् ।

छैटौं शताब्दीमा तक्षशिला, तेह्रौं शताब्दीको शुरुवातमा नालन्दा र विक्रमशिला विश्वविद्यालयहरू ध्वस्त नपारिएका भए अहिले पाकिस्तानको इस्लामावाद र भारतको विहार शिक्षा, खोज, अनुसन्धान र आविष्कारको केन्द्रहरुका रूपमा हुन्थे । अध्ययन अध्यापनको लागि संसारभरका प्रतिभाशाली प्राध्यापक र विद्यार्थीको पहिलो रोजाइमा हुन्थे । नेपाल, भारत र पाकिस्तानले अहिले समृद्धिको शिखर चुमिसक्थे ।

हामीले न इतिहासबाट पाठ सिक्न सक्यौं, न वर्तमानको यथार्थलाई बुझ्न सक्यौं । एउटा त्रिभुवन विश्वविद्यालयलाई मात्र पनि विकसित, सुसंस्कृत, व्यवस्थित, वैभवशाली बनाउँदै खोज अनुसन्धान केन्द्र र थिङ्क ट्याङ्कको रूपमा विकसित गर्न सकेको भए आज हामी समृद्धिको यात्रामा धेरै अगाडि बढिसक्थ्यौं । विश्वविद्यालयहरू सरकारको पहिलो प्राथमिकतामा कहिल्यै परेनन् । राजनीति, चाकडी, नातावाद, कृपावाद, भागवण्डा, व्यक्तिगत स्वार्थ, भ्रष्टाचार र अस्तव्यस्तताभन्दा अगाडि कहिल्यै बढ्न सकेनन् । देशको भविष्यलाई गर्भमा बोक्ने र आधारस्तम्भको निर्माण गर्ने संस्थाहरू आफैं अव्यवस्थित र लथालिङ्ग छन् भने देश कसरी व्यवस्थित र समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ ।

नयाँ युग सडककिनारको पोलमा पोस्टर टाँसेर कदापि आउन सक्दैन । हामीले समृद्धिको विश्वअभ्यासलाई बुझ्न सक्नुप¥यो । समृद्धि तब आउने छ, जब हाम्रा विद्यालय र विश्वविद्यालयहरू व्यवस्थित, विकसित, सुसंस्कृत, उद्देश्य उन्मुख र उत्तरदायी हुनेछन्, विशुद्ध शैक्षिक र प्राज्ञिक थलोको रूपमा विकसित हुनेछन् । अनि हाम्रा विश्वविद्यालयका इन्जिनियरहरू जहाज र रेलका पाटपुर्जा बनाउने मेसिनहरू बनाउन, अर्थशास्त्रीहरू हाम्रो अर्थ व्यवस्थाको मौलिक मोडल निर्माण गर्न, शिक्षाविद्हरू युगसापेक्ष शिक्षा योजना निर्माण गर्न, वैज्ञानिकहरू देशको आवश्यकताअनुसारका आविष्कारहरू गर्न, डाक्टरहरू कालिकोट र दार्चुलाका विकट क्षेत्रहरूमा गएर उत्कृष्ट स्वास्थ्यसेवा दिन, कृषिविज्ञहरू किसानको खेतबारीमा गएर उत्कृष्ट सेवा दिन, कानुनविद्हरू न्याय प्रणालीलाई व्यवस्थित गर्न सक्षम हुनेछन् ।

वास्तविक रूपमा समृद्धिको वैभवशाली यात्रा त्यही दिनदेखि शुरु हुनेछ, जुन दिनदेखि हाम्रा विद्यालय र विश्वविद्यालयहरू विकसित, व्यवस्थित, सुसंस्कृत र समृद्ध हुनेछन् । समृद्धिको पहिलो आधार शिक्षा हो र शिक्षाको आधार विद्यालय र विश्वविद्यालयहरू हुन् । हामीले योजनाविहीन भाषणअनुसारको होइन हाम्रो शिक्षा पद्धतिअनुसारको समृद्धि प्राप्त गरिरहेका छौं र भविष्यमा पनि शिक्षाअनुसारकै समृद्धि प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्