सर्वाधिक पुरस्कारको वीर गणेशमान सिंह बक्सिङ



कविरस शर्मा
पालका सर्वोच्च नेता तथा लौहपुरुष वीर गणेशमान सिंहको स्मृतिमा २०७१ सालमा पहिलोपटक आयोजना गरिएको बक्सिङ प्रतियोगिताको तेस्रो संस्करण यही माघ २२ गते देखि २६ गतेसम्म आयोजना हुदै छ। वीर गणेशमान सिंहको स्मृतिमा यसअघि सम्पन्न दुई संस्करण योङ स्टार क्लब र वीर गणेशमान सिंह फाउन्डेसनको सक्रियतामा सम्पन्न भएको थियो। ती दुवै संस्करण देशव्यापी खुला बक्सिङ प्रतियोगिताका रूपमा सम्पन्न भएको थियो। तर, यसपटक देखि भने ढाँचा फेरिएको छ।

बृहत् राष्ट्रिय खेलकुदका लागि अवलम्बन गरिने ढाँचाअनुसार ७ वटा प्रदेश र तीन विभागीय गरी कुल १० टिमका खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। जसअनुसार प्रदेशबाट खेलाडी छनोट गरिएका छन्। आयोजकका अनुसार ५ र ६ प्रदेशमा बक्सिङ रिङको अभावका कारण ७ नम्बर प्रदेशमा नै ५, ६ र ७ नम्बर प्रदेशका खेलाडीले छनोट खेलेका थिए।

प्रतियागितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र साढे ७ हजार नगद प्रदान
गरिनुका साथै उत्कृष्ट पुरुष बक्सरलाई मोटरसाइकल र महिला बक्सरलाई स्कुटी पुरस्कार रहेको छ। योसँगै नेपाली बक्सिङ इतिहासमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता बनेको छ। यस्तो पुरस्कारले बक्सरमा पनि खेलप्रति सकारात्मक सोच बढ्ने आशा गर्न सकिन्छ।

राजीव श्रेष्ठ
वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिताका संयोजक

गत दुई संस्करणझैं यसपटक पनि उक्त प्रतियोगिता काठमाडौंको ऐतिहासिकस्थल वसन्तपुर डबलीमा हुँदै छ। जहाँ घुम्न आउने पर्यटकले पनि नेपाली बक्सिङसँग साक्षात्कार गर्नेछन्। प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका १० टिमबाट ८० पुरुष र ६० महिला गरी १ सय ४० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला खेलाडीको ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहको भिडन्त हुनेछ। गत दुई संस्करणमा राखिएका पुरुष ९१ र ९१ केजीभन्दा माथि तथा महिला ६९ र ७५ केजी तौल समूहलाई भने यसपटक समावेश गरिएको छैन। हरेक टोलीमा बढीमा ८ पुरुष र ६ महिला गरी प्रतियोगितामा ८० पुरुष र ६० महिला खेलाडीले भाग लिनेछन्।

कतिपय अवस्थामा बक्सिङ प्रतियोगिताका दौरान हारजितको निर्णयलाई लिएर विवाद सिर्जना हुने गरेको छ। यसपटक भने निर्णायक पंक्तिलाई पनि सक्दो सुधार गर्ने प्रयास गरिएको आयोजकले बताएका छन्। अनुप लामाको सुपरभाइजिङ रहने टेक्निकल कमिटीले खेल सञ्चालन गर्ने प्रतियोगिताका संयोजक तथा नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले बताउनुभयो।

प्रतियोगिता सञ्चालनका लागि करिब ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई बृहत्रूपमा सफल पार्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको विशेष सकारात्मक भूमिका रहेको र परिषद्ले ५० लाख रुपियाँ विनियोजन गरेको श्रेष्ठले स्पष्ट पार्नुभयो।

राखेपबाहेक अन्य व्यापारिक संस्थाले पनि सहयोग गरेका छन्। जसअनुसार जगदम्बा मोटर्सले ६ लाख रुपियाँ बराबरको एक थान बाइक र एक थान स्कुटर प्रायोजन गरेको छ। यसै गरी लियोन मोटर्सले ५ लाख, लबेल्स ९रिबोक० ले ५ लाख बराबरको नगद र सामान, ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले समान ३÷३ लाख बराबरको प्रायोजन गरेको छ।
पहिलेको तुलनामा अहिले नेपालमा बक्सिङ खेलप्रतिको मोह कम हुँदै गएको छ। जसलाई मध्यनजर गरी यसपटक बक्सिङप्रति क्रेज बढाउन राम्रो गृहकार्य गरिएको छ। उक्त प्रतियोगितालाई बृहत् बनाउन पहिलोपटक इभेन्ट म्यानेजमेन्टसँग समन्वय गरी सञ्चालन गर्न लागिएको श्रेष्ठले बताउनुभयो। जसले गर्दा प्रतियोगितालाई थप व्यवस्थित र खेलमा ग्लामराइज्डलाई पनि बढावा दिने आशा गरिएको छ।

विशेष गरी मार्सल आट्र्सम्बद्ध खेलमा अहिले वीर गणेशमान सिंह फाउन्डेसनले सक्रियता बढाएको छ। फाउन्डेसनले सम्बन्धित निकायसँग सहकार्य गरी खेलको विकास र खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्न उक्त प्रतियोगिताका लागि तत्परता देखाएको छ। खेलकुदका माध्यमबाट देशको प्रतिष्ठा बढाउन सहयोग मिलोस् भन्ने उद्देश्यअनुरूप अहिले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेको फाउन्डेसनका अध्यक्ष तथा सांसद प्रकाशमान सिंह बताउनुहुन्छ।

फाउन्डेसनको सहकार्यमा २०७१ र २०७४ सालमा गरी दुईपटक वीर गणेशमान स्मृति बक्सिङ प्रतियोगिता सम्पन्न भएको थियो। जसको निरन्तरता स्वरूप नै उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागिएको हो। तुलनात्मकरूपमा विगतमा भन्दा वर्तमानमा नेपाली बक्सिङले प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउन सकिरहेको छैन। घरेलु प्रतियोगिताको कमी पनि यसको एउटा कारण हो। जसलाई मध्यनजर गर्दै बक्सिङ प्रतियोगिताका लागि सक्रियता देखाएको फाउन्डेसनका अध्यक्ष सिंह बताउनुहुन्छ।
‘हरेक वर्ष आयोजना गर्ने उद्देश्यसहित यो नेपाली बक्सिङ क्यालेन्डरमा रहने छ’, उहाँले बताउनुभयोे– ‘जसले गर्दा खेलाडीमा पनि यो प्रतियोगिताका लागि तयार भएर बस्ने मनस्थिति सिर्जना हुनेछ। बक्सिङ मात्र होइन, भविष्यमा फाउन्डेसन अन्य खेलको प्रतियोगिता पनि आयोजना गर्ने सोचमा छ।’

प्रतियोगितालाई सफल बनाउन नेपाल बक्सिङ संघ हरसम्भव सहयोग गर्न तयार रहेको संघका उपाध्यक्ष अर्जुनबहादुर केसीले बताएका छन्। उनले भने– ‘वीर गणेशमान सिंह बक्सिङ प्रतियोगितालाई सफल पार्न नेपाल बक्सिङ संघ हरसम्भव सहयोग गर्न तयार छ। प्रतियोगिताका लागि जिल्ला र प्रदेश छनोट प्रक्रियाले राम्रो खेलाडी उत्पादन गर्न सहयोग पु¥याउनेछ। बक्सिङ प्रतियोगितामा पहिलोपटक मोटरसाइकल र स्कुटर पुरस्कारले खेलाडीलाई खेल्न उत्प्रेरित गर्नेछ।’

प्रतियोगितालाई समयसापेक्ष बनाउने अहिलेको आवश्यता हो। यही सोचका साथ तेस्रो संस्करणलाई बृहत्रूपमा आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठ बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्लगायत विभिन्न कर्पोरेट हाउसले पनि राम्रो सहयोग गरेका छन्। दीपक थापाको इभेन्ट म्यानेजमेन्ट समूहले राम्रो गृहकार्य गरिरहेको छ।’

उहाँले थप्नुभयोे– ‘बक्सिङमा लागेको २७ वर्ष भयो, संघमा हुँदा र नहुँदा पनि बक्सिङमा लगाव हुँदोरहेछ। अहिले बक्सिङ प्रतियोगिता पनि त्यति धेरै नभइरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीमा हौसला बढाउन सहयोग पुग्छ भन्ने लागेको छ। त्यसैले नेपाली बक्सिङलाई टेवा पु¥याउने मनशायले नै यो प्रयास गरेका हौं। जसमा खरो उत्रन्छु भन्ने मलाई विश्वास छ।’

यसअघिका दुई संस्करणमा खुलारूपले क्लबहरू सहभागी भएका थिएँ। तर, यसपटक भने प्रतियोगितामा जति सक्दो स्तरीय खेलाडीले प्रतिस्पर्धा गरुन् भन्ने उद्देश्यले खेलाडीलाई प्रदेश छनोट प्रक्रियामार्फत छानिएको श्रेष्ठ बताउनुहुन्छ।

श्रेष्ठले बताउनुभयोे– ‘यसले राम्रो खेलाडी उत्पादन गर्न सहयोग पु¥याउनेमा आशावादी छौं। अहिले हामीले कामको प्रकृतिअनुसार विभिन्न समिति बनाएका छौं। जसले आ–आफ्नो जिम्मेवारीअनुसारको काम गर्नेछ। पुरुषको ८ र महिलाको ६ वटा तौल समूहको प्रतिस्पर्धा हुनेछ। त्यहीअनुसार नै हामीले प्रदेश छनोट गरेका छौं। विभागीय टोलीहरूलाई पनि त्यहीअनुसार पत्राचार गरेका छौं। जसले गर्दा अन्यभन्दा यो बक्सिङ प्रतियोगितालाई अझ बढी बृहत् र उत्कृष्ट बनाउने प्रयासमा म लागिपरेको छु।’

‘बाइक र स्कुटरचाहिँ अन्य खेलका खेलाडीलाई पनि प्रदान गरिँदै आएको छ। अरू खेलले दिने अनि बक्सिङ खेलाडीलाई चाहिँ नदिने भन्ने कुरा नै आउँदैन। यस्तो पुरस्कार दिने मेरो पहिलेदेखि नै सोच थियो। यो पुरस्कार विगतमा भन्दा बढी भए पनि धेरैचाहिँ होइन, अझ बढाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। बजेट पनि ठूलै आकारको छ। जसले खेलाडीलाई उत्प्रेरित गर्न र प्रत्यक्षरूपमा फाइदा पुगोस् भनेर पुरस्कार राशिमा ध्यान दिएका छौं। यसले खेलाडीमा वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता खेल्नका लागि उत्सुकता जगाउनेछ भन्ने विश्वास लिएका छौं।’ –उहाँले भन्नुभयो।

विगतमा सम्पन्न दुई संस्करणभन्दा यसपटक बृहत्रूपमा यस प्रतियोगिता आयोजना हुने आयोजकको दाबी छ। यसपटक विभिन्न व्यापारिक संस्था र राष्ट्रिय खेलकुद परिषद्को राम्रो सहयोगले पनि प्रतियोगिताको स्तर बढ्ने देखिन्छ। नेपालमा मार्सल आट्र्स तथा बक्सिङ खेलाडीलाई दिइने पुरस्कारको आकार निक्कै सानो हुने गरेको छ। तर, आसन्न गणेशमान सिंह बक्सिङ प्रतियोगिताले भने त्यस्तो क्रमलाई केही हदसम्म तोड्नेछ। यसपटकको पुरस्कारले निश्चितरूपमा बक्सिङ खेलाडीमा ऊर्जा थपिनेछ। अन्य मार्सल आट्र्स खेलका लागि पनि यो उदाहरण बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्