ठेकीको माग उच्च, बनाउन भ्याइनभ्याइ



मङ्गलबारे,  दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कँुद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली ।

दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाउनुभएका रसाइलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहँुजस्तो लाग्छ ।

काठको मुढालाई पहिले सामान्यरूपमा तासिन्छ । तासिएको मुढालाई मेसिनमा हालेर कुँद्न थालिन्छ । करीब आधा घण्टादेखि एक घण्टामा सामान्य खालको ठेकी तयार हुन्छ । रसाइलीले ठेकी बनाउन थाल्नुभएको तीन वर्ष पुग्यो । “मैले ठेकी बनाउन शुरू गरेको तीन वर्ष भयो, म घरबाट पहिलोपटक आमचोक आएको हुँ”, रसाइलीले रासससँग भन्नुभयो, “हातमा सीप छ भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन । मौसममा ठेकी बनाएर मात्र रु तीन÷चार लाख कमाउँछु ।”

शुरूमा ७० हजारमा पमसिट मेशिन खरीद गरेर व्यवसाय थाल्नुभएका उहाँले सबै खर्च कटाएर राम्रो आम्दानी गरेको सुनाउनुभयो । तीन वर्षको अवधिमा करीब दुई हजार वटा ठेकी, हर्पे, तोङ्बा, डम्बरूलगायतका सामग्री बनाउनुभएको उहाँले बताउनुभयो ।

“दैनिक चारदेखि पाँच वटासम्म ठेकी तयार गर्छु, ठूला ठेकी बनाउन धेरै समय लाग्छ”, उहाँ भन्नुहुन्छ, “गाउँघरमा दारको ठेकी धेरै रूचाउने भएकाले यसको माग उच्च छ ।”

उहाँले ठेकी कुँद्न तालीम भने लिनुभएको होइन् । अरूले बनाएको देखेर पनि आफूले सिकेको उहाँ बताउनुहुन्छ । “गर्दा केही काम पनि असम्भव भन्ने छैन”, उहाँ भन्नुहुन्छ, “हातमा सीप छ भने दुई चार पैसा कमाउन विदेशिनु पर्दैन ।”

उहाँले ठेकीको मात्रा हेरी ज्याला लिनुहुन्छ । एक कुरूवाको रु १२० ज्याला तिर्नुपर्छ । मेशिनलाई लाग्ने डिजेल पनि उहाँ आफैँ नै खरीद गर्नुहुन्छ । रसाइलीलाई ठेकी बनाउन आमचोकका इन्द्रप्रसाद अधिकारीले आमचोक बोलाउनुभएको हो । अधिकारीले दारको रूख खरीद गरेर ल्याउनुहुन्छ । ठेकी बनाउने रसाइलीलाई अधिकारीले खान र बस्ने राम्रो प्रबन्ध मिलाइ दिनुभएको छ । करीब डेढ महीनाको अवधिमा १५० वटा ठेकी तयार भइसकेका छन् । यहाँ बनाइएका ठेकी स्थानीयस्तरमा साथै झापाको विर्तामोडसम्म बिक्री गरिँदै आएको ठेकी उद्योगी इन्द्र अधिकारीले बताउनुभयो ।

उहाँले गत वर्ष पनि ठेकी बनाउन झापाबाट चँदरालाई यहाँ बोलाउनुभएको थियो । ठेकी बिक्री गरेर अधिकारीले एकै मौसममा करीब रु एक लाख आम्दानी गरिसक्नुभएको छ । ग्रामीण भेगमा पशुपालन गर्ने कृषक र दूध खरीद गरेर खानेले पनि ठेकी खरीद गरिरहेको अधिकारी बताउनुहुन्छ ।

एक साताअघि मात्र आमचोकमा सम्पन्न एकीकृत घुम्ती शिविरमा आउने कर्मचारीले एकैपटक २० वटाभन्दा बढी ठेकी खरीद गरेको अधिकारीले बताउनुभयो । दारको ठेकीमा जमाएको दही पिउँदा विभिन्न खालका रोगसमेत निको हुने विश्वासले मानिसले दारको ठेकी नै खोजेर किन्ने गरेको अधिकारी बताउनुहुन्छ । सामान्य खालको छाती पोल्ने, पेट पोल्नेलगायतका रोग यसको प्रयोगबाट निको हुने स्थानीय बासिन्दा धनपति घिमिरेको भनाइ छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले पनि ठेकी उद्योगको अवलोकन गर्नुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्