पर्यटन नै प्राथमिकता



पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि धौलागिरी पर्यटन प्रवद्र्धन समितिले जिल्लाका पर्यटन क्षेत्रमा काम गर्ने अन्य संस्थासँग मिलेर पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि कार्यशाला गोष्ठीको आयोजना ग¥यो। मौसमको प्रतिकूलताका कारण आयोजकले सोचेकै ठाउँमा कार्यक्रम आयोजना हुन त सकेन तर बागलुङ जिल्ला र गण्डकी प्रदेशको पर्यटनको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण थियो। बागलुङका चार पालिकाको सीमाक्षेत्रमा रहेको गाजाको धुरी र जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दहक्षेत्रमा आयोजना गरिएको कार्यक्रम हिमपात र वर्षाका कारण बिहुँमा स्थानान्तरण भएको भए पनि यो कार्यक्रमले जिल्लाको पर्यटनको विकासका लागि एकहिसाबको सन्देश छोडेको छ।

गण्डकी प्रदेशका तीन जिल्ला र ५ नम्बर प्रदेशको गुल्मीसहितका १९ पालिकाको बीचमा सहकार्य गर्ने गरी एउटा सामाजिक संस्थाले पहल थाल्नु अनुकरणीय काम हो, जुन काम अधिकार सम्पन्न र बजेटको समेत व्यवस्थापन गर्न सक्ने हाम्रा स्थानीय तहले गर्न सक्ने काम थियो। बिहुँमा सम्पन्न भएको कार्यशाला एउटा नमुना मात्रै हो, साँच्चै पछिल्लो समय जनजिब्रोमा झुन्डिएको जस्तै देश विकासको मुख्य आधार पर्यटन क्षेत्र नै हो भने यस्ता खालका कैयौं कार्यक्रम हुनु जरुरी छ।

आन्तरिक तथा बाह्य पर्यटनमा प्रख्यात भैसकेका पोखरा, ढोरपाटन, मुक्तिनाथ र लुम्बिनी मात्रै होइन, हामीसँग रहेका सम्भावना बोकेका सबै पर्यटकीय क्षेत्रको विकासको लागि यसरी नै छलफल, गोष्ठी, सहकार्य र योजनाको निर्माण हुन आवश्यक छ। जिल्लामा रहेका चाहे धार्मिक हुन् वा प्राकृतिक पर्यटकीय सम्भावना रहेका क्षेत्रहरू हुन्, सबैको महत्व कुनै एक पालिका वा स्थान विशेषभन्दा फराकिला रहेका छन्। यिनको विकास र प्रवद्र्धन गर्दा पुग्न सक्ने फाइदाको विषयलाई मध्यनजर गरेर स्थानीय सरकारले योजना निर्माण गर्ने र साझा कार्यसूची बनाउने काममा लाग्नु आवश्यक छ।
भाषणमा जोडिएको पर्यटनको क्षेत्रले मात्रै विकास र समृद्धिको सपना नदेखे पनि हुन्छ। साँच्चिकै विकास र समृद्धिको लागि पर्यटन क्षेत्रलाई आधार बनाउने हो भने नीति तथा कार्यक्रम निर्माण, बजेटको व्यवस्थापन र खर्च पनि सोही हिसाबको गर्न जरुरी छ। विकासका लागि सहकार्य हरेक क्षेत्रको लागि आवश्यक कुरा हो। अझै पर्यटन क्षेत्रको विकासमा लागि गरिने सहकार्यले अपेक्षित प्रतिफल प्राप्त गर्नको लागि धेरै कुर्नुपर्दैन। पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्दा मैले के–कति पाउने भन्दा धेरै मैले के–कति योगदान गर्न सक्छु भन्ने विषयमा सोच्न जरुरी छ।

सम्भावना छन् भनेर घोक हाल्ने तर तिनै सम्भावना रहेका क्षेत्रको नजरअन्दाज गर्ने हाम्रो सोचका लागि यो कार्यशाला एउटा दरिलो उदाहरण हो। सहकार्यका लागि नमुनाको रूपमा प्रस्तुत गरिएको कार्यशालाबाट पाठ सिकेर आगामी दिनमा अन्य काममा सहकार्यको वातावरण बनाउन र सहकार्यमा काम गर्न यहाँका स्थानीय तहले सिकून्। यसैमा सबैको कल्याण हुनेछ।
– गीता पन्थी, पर्वत।

प्रतिक्रिया दिनुहोस्