कोटेश्वर–कलंकी सडक अधुरै हस्तान्तरण



sf7df8f}sf] sf]6]Zj/‰ÛÒsnÌ?L rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{gÌásflGtk’/

सुरेश तामाङ, ललितपुर
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको भन्दै चीनले नेपाललाई हस्तान्तरण गरेको छ।

उक्त खण्डमा सडक र कलंकीमा नेपालमै पहिलो अन्डर पास बनाएर सम्पन्न गरे पनि सडक सुरक्षा, बस स्टेशन, जेब्रा क्रसिङ, डिभाइडरलगायतको पूर्वाधार अझै पूरा भइसकेको छैन।

सडक विभागले भने चिनियाँ पक्षले निर्माण गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरिरहेको छ। विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चिनियाँ पक्षले बनाउनुपर्ने सबै संरचना सम्पन्न गरिसकेको दाबी गर्नुभएको छ।

सडकमा जेब्रा क्रसिङ, ट्राफिक संकेत, ट्राफिक बत्ती, उपयुक्त ठाउँमा आकाशे पुललगायतको संरचना नबन्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। मुख्य चोकबाहेक अन्य स्थानमा जेब्रा क्रसिङ भेटिँदैन। उपयुक्त स्थानमा जेब्रा क्रसिङ र आकाशे पुल नहुँदा यात्रु जोखिम मोलेरै आठ लेनको सडक पार गर्न बाध्य छन्।

कोटेश्वर, बीएन्डबी र बागडोल गरी ३ स्थानमा मात्रै चीनले आकाशे पुुल निर्माण गरेको छ। आठ लेनमा बनेको अन्तर्राष्ट्रियस्तरको चिटिक्क परेको सडक भए पनि शहर परिवेश सुहाँउदो र यात्रुमैत्री नभएको भन्दै जनगुनासो अझै पनि छ।

केहीले भने यो सडक निर्माणाधीन अवस्थामा डिजाइन नै त्रुटीपूर्ण भएको भन्दै तत्काल सच्चिनुपर्ने आवाज पनि उठाएका थिए। ती आवाज मत्थर नभई निर्माण कार्य सम्पन्न भएको भन्दै चीनले नेपाललाई उक्त सडक हस्तान्तरण गरेपछि आलोचना भइरहेको छ।

विभागका महानिर्र्देशक श्रेष्ठले उक्त सडकमा कमी कमजोरी भएको स्विकार्दै केकस्ता कमीकमजोरी छन् र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर अध्ययन गर्ने बताउनुभयो।

‘चीनले बनाएको सडकमा कमीकमजोरी नभएको होइन, भएको छ। थप केकस्ता कमीकमजोरी छन् र कसरी सुधार्न सकिन्छ भनेर हामी अध्ययन गर्छौं।’ –उहाँले भन्नुभयो।

सडकमा यात्रा गर्दा यात्रुले भोग्नुपरेका समस्यालाई गुनासोका रूपमा लिँदै त्यसलाई समाधान गर्न र त्यस खण्डमा हुने सडक दुर्घटनाको दरलाई घटाउन तत्काल कार्य थाल्ने उहाँले आश्वासन दिनुभयो।
उक्त सडकलाई गौरवका रूपमा लिँदै दीर्घकालीनरूपमा समस्या नआउने हिसाबले सुधार्दै जाने अठोट उहाँले लिनुभयो। ‘सडकमा देखिएका त्रुटीको अध्ययन हुन्छ। समाधान पनि हुन्छ। यो दीर्घकालीन हुन्छ।’ –उहाँले भन्नुभयो।

यसका लागि ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर विभागको प्राविधिक टोलीको अध्ययन टोली बनाएर खटाउने तयारी भइरहेको दाबी गर्नुभयो। टोलीले गरेको अध्ययन पनि कसरी अगाडि बढ्ने भन्ने मार्गदर्शन मिल्ने उहाँको भनाइ छ।

उहाँले अध्ययनपछि सच्याउनुपर्ने भागमा विभागले सच्याउने जनाएको छ। कुनै ठेकेदारले निर्माण कार्य सम्पन्न गरेको एक वर्षसम्म मर्मतको जिम्मेवारी स्वयं ठेकेदारको हुने प्रावधान छ। विभागको अध्ययनपछि भेटिने त्रुटीलाई ठेकेदारलाई सच्याउन आग्रह नगरी विभाग आफैले सच्याउने संकेत छ।
चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले यो सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो।

कम्पनीले सन् २०१३ सेप्टेम्बरदेखि काम थालेको थियो। यो सडक खण्ड चीनले ६ वर्ष लगाएर निर्माण सम्पन्न गरेको सोमबार घोषणा भएको छ। २०७२ मा घटेको विनाशकारी भूकम्प र नाकाबन्दीको असरले समेत यो सडक समयमै सम्पन्न नभई समय लम्बिएको विभागले जनाएको छ।
सयम लम्बिएपछि सर्भिस ट्रयाक बल्खु–खसिबजार खण्डको सर्भिस ट्रयाक निर्माण गर्न चीन असमर्थ भएपछि विभागले बनाउने सम्झौता भएर म्याद थप भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो। अहिले त्यहाँ पर्खाल लगाउने, सर्भिस ट्रयाकको कालो पत्रेका लागि कामहरू भइरहेको छ।

उहाँले सर्भिस ट्रयाकको काम ३ महिनाभित्र सम्पन्न गरिसक्ने बताउनुभयो। यात्रुलाई सहज पार्न विभागले रकम विनियोजन गरेर ग्वार्को, सातदोबाटो र महालक्ष्मी स्थानमा आकाशे पुल निर्माणको काम थालिसकेको जानकारी दिनुभयो।

आठ लेनको सडक भए पनि यस खण्डमा ट्राफिक जामको चर्को सास्ती यात्रु खेप्नुपरिरहेको छ। सवारी चाप हुने पिक आवरबाहेक पनि सवारी जाममा पर्ने पुरानै शैली यस खण्डमा कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्