यूरोपेली वायुले हिउँदे झरीसँगै हिमपात



नेपाल समाचारपत्र, काठमाडौं । भू–मध्यसागर हुँदै भित्रिएको यूरोपेली वायुको प्रभावले देशैभरी वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन दोहोरिने भएको छ ।

आज विहीवार मौसम केही सुधारआएपनि भोलि शुक्रवार फेरी अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शुक्रवार धेरै ठाउँको मौसम प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ, हल्कादेखि मध्यमस्तरको वर्षा दोहोरिने भएको छ’–महाशाखाका मौसमविद् सुजन सुवेदीले बुधवार साँझ नेपाल समाचारपत्रसँग भन्नुभयो ।
पश्चिमी वायु सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तर पश्चिमी भेग जम्मु कास्सिर हुँदै सोमबार नेपाल भित्रिएको हो । यही प्रभावले मुलुकका हिमाली भेगसँगै धेरै ठाउँका उच्च पहाडी भेगमा हिमपात गराएपछि तापक्रम खस्किँदा जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । पश्चिमी वायुको प्रभाव निकै प्रभावकारी भएकाले सुदुरपश्चिमी क्षेत्रका मध्य पहाडी भेगमा पनि हिमपात भएको छ ।
अहिलेको मौसमी प्रणालीको प्रभाव नेपाल सहित समग्र दक्षिण एसियामा देखिएको बताउँदै वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भन्नुभयो–‘अहिलेको मौसमी गतिविधीले भारतको उत्तरभेग, तिब्बत, भुटान, पाकिस्तान र अफगानिस्तानमा समेत हिमपात र वर्षा गराएको छ ।’

हिउँदे वर्षा हिउँदयामको स्वभाविक चक्र भएपनि करिव एक दशकयता हिउँदे वर्षा मध्य हिउँद तर्फ धकेलिन थालेको उहाँले बताउनुभयो । हिउँदे वर्षा धकेलिने मुख्य कारण जलवायु परिवर्तनको बलियो संकेत भएको बताउदैै शाक्यले भन्नुभयो–‘मंसिरमै मेघ गर्जन सहित हुनुपर्ने हिउँदे वर्षा केही वर्षदेखि हुन छोडेको छ, वर्षाको मात्रा पनि घट्न थालेको छ ।’

महाशाखाले भोलि शुक्रवार हिमाली र उच्च पहाडी भेगमा फेरी हल्का र मध्यमस्तरको हिमपात हुने बताउँदै बुलेटिन पनि सार्वजनिक गरेको छ ।
अहिलेको मौसमी प्रभावले बुधवार देशैभरी हिउँदे झरी परेको छ । मंगलबार साँझदेखि बुधवार विहानसम्म हिमाली जिल्ला जुम्लामा २३ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसैगरी लुम्लेमा १६ मिलिमिटर वर्षा भएको थियो भने बुधवार अपरान्ह्रसम्ममा काठमाडौंमा १४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

विरेन्द्रनगरमा १३, डडेलधुरामा ८ दशमलव ६, ताप्लेजुङमा ६ दशमलव ३, ओखलढुंगामा ६, भैरहवामा ५ दशमलव ८, पोखरामा ५ दशमलव १, धनकुटा र सिमरामा समान ३ दशमलव ५ र दिपायलमा २ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । बुधवार अन्यत्र पनि हल्का र छिटफुट वर्षा भएको थियो ।

जुम्लामा एकको मृत्यु

जुम्लाको सिँजा गाउँपालिका ६ स्थित जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत अवस्थामा फेला परेका उनका दाजु बाँते बुढाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी बर्षा र हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एक जनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधबार दिउसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ‘दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै गरेको अवस्थामा सो घटना घटेको थियो ।’ शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्