बैतडीमा हिमपात, असिना र बर्षाले विद्युत सेवा अवरुद्ध, यातायात बन्द



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा बुधवार असिना, बर्षासंगै हिमपात भएको भएको छ । बिहानैदेखि बैतडीका अधिकांस क्षेत्रमा असिना,बर्षा र हिमपात भएको हो ।

हिमपात यहाँका राजमार्ग समेत अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपमा बन्द भएका छन् ।

अनारखोली, खोडपे लगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जनाकारी दिए ।

यसका साथै मोतीनगर , ढोल्यामोड, बित्थड, देउलेक लगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यसअघि मंगलवार पनि हिमपात भएको थियो । हिमपातले मंगलवार पनि राजमार्ग अवरुद्ध भएका थिए । हिमपातले अत्यधिक चिसो बढेकोले जनजीवन पनि प्रभावित भएको छ ।

यसैबिच हावाहुरी, बर्षा र हिमपातले बैतडीमा विगत ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सोमवार बेलुकाको हावाहुरी र हिमपातले यहाँ विद्युत सेवा अवरुद्ध भएको हो ।

हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाईनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

लगातार हिमपात र बर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाएको छ । जिल्लामा विद्युत सेवा अवरुद्घ हुँदा यहाँको नागरिक सञ्चारविहीन भएका छन । भने यहाँ सञ्चालित रेडियो प्रसारणमा समस्या तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेको छ । यसका साथै विद्युतवाट सञ्चालित हुने कलकारखाना , मिल पनि चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्