यमनको विस्फोटमा पाँच विदेशी मारिए



साना, (एजेन्सी)
यमनमा भएको एक दुर्घटनामा मंगलबार पाँच जना विदेशी बारुदी सुरुङ निस्क्रिय पार्ने विशेषज्ञको ज्यान गएको साउदीको कोषमा सञ्चालित एक दातृ निकायले जनाएको छ। बारुदी सुरुङ हटाउन जाने क्रममै आइतबार म्यारिवमा तिनीहरू चढेको सवारीसाधनमा अचानक विस्फोट भएको बताइएको छ।

मारिनेमा दुई जना दक्षिण अफ्रिका, एक जना क्रोसिया, एक जना बोस्निया र अर्को एक जना कोसोभोका नागरिक रहेको बताइएको छ। नरेश सलमान मानसवय राहत उद्धार केन्द्रका अनुसार यस घटनामा एक बेलायती पनि घाइते भएका छन्।

ती बारुदी सुरुङहरू साउदी सहयोग र समर्थन प्राप्त यमन सरकारसँग संघर्ष गर्दै आएका हौथी मुभमेन्टका लडाकूले बिछ्याएको सरकारी सूत्रले जनाएको छ। सन् २०१५ को शुरूमा हौथी लडाकूले यमनको अधिकांश पश्चिमी भागमा कब्जा गरेपछि राष्ट्रपति अब्द्राब्बुह मन्सुर हादी देश छोडेर भाग्न बाध्य भएका थिए।

त्यही बेलादेखि यमनमा अस्थिरता छाएको छ। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार यमनको गृहयुद्धमा कम्तीमा ६ हजार ८ सय सर्वसाधारणको ज्यान गइसकेको छ भने १० हजार ७ सयभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्