पोखरामा रणवीर



आगामी माघ १८ गतेबाट अल नेपाल रिलिज हुने फिल्म रणवीरले मोफसल यात्रा शुरू गरेको छ। यसै क्रममा निर्माण टोली पोखरा पुगेको छ।
टिमले पोखरामा पत्रकार भेटघाट आयोजना गर्दै फिल्मबारे जानकारी गराएको छ। फिल्मका नायक सुशील सिटौलाले पत्रकार भेटघाटमा बोल्दै आफू यो फिल्ममा रणवीरको शीर्ष भूमिकामा रहेको बताए। ‘यसअघिका फिल्ममा चक्लेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका विकृति विसंगतिविरुद्ध उत्रिएको छुु’, सिटौलाले भने– ‘रणवीरमा दर्शकले मलाई छुट्टै चरित्रमा देख्नुहुनेछ।’ फिल्ममा सुशीलसँगै नवोदित अभिनेत्रीद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टीका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ।

नवोदित अभिनेत्री एवं मिस नेपाल इन्टरनेसलन २०१२ शुभेच्छा खड्काले यसअघि विभिन्न फिल्ममा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताइन्। अर्की नवअभिनेत्री सुपुष्पाले फिल्ममा आफू एउटी प्रेमिकासँगै जिम्मेवार युवतीको भूमिकामा रहेको जानकारी गराइन्। आफू नयाँ भएर पनि अग्रज कलाकारसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सुनाइन्। लेखक एवं निर्देशक गोविन्द सिंह भण्डारीले आफू दक्षिण भारतीय सिनेमा उद्योगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनुपर्छ भनेर आएको बताए। उनले रणवीरमा विकराल भ्रष्टाचार, अपहरण, गुन्डागर्दीजस्ता विविध समस्यालाई उठाइएको जानकारी गराए। रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको उनले बताए।

यसअघि गाजा बाजा फिल्म बनाएका गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन्। गोमाले रणवीरको कथा सशक्त भएको र निर्देशक गोविन्दको कामबाट प्रभावित भएकाले रणवीरमा लगानी गरेको बताइन्। उनले नारी निर्माताले पनि राम्रो सिनेमा बनाउन सक्छन् भन्ने उदाहरण यो फिल्मबाट आफू बन्ने बताइन्। निर्माता रेग्मीले रणवीरले बाबु र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेस गर्ने दाबी गरे। तिरिमिरी तीन तारा गीत र ट्रेलरका कारण चर्चामा रहेको रणवीरमा राजनराज शिवाकोटी, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन बस्यालको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्