दुर्घटनाले चुँडियो राजेशको अस्ट्रेलिया सपना



दुर्गाप्रसाद शर्मा, पर्वत
अष्ट्रेलिया जाने सपना बोकेका म्याग्दीको पाखापानी २ का २१ बर्षिय राजेश पुनको सपना कहिल्यै पुरा हुन पाएन । सपनाको देश अष्ट्रेलिया जाने धोको राखेर अंग्रेजी भाषा परिक्षा दिनका लागि बेनीबाट विहिबार विहान ८ बजेको समयमा नारायणगढ जाने बसमा चढेका उनी बसमा चढेर १० किलोमिटर यात्रा पार गरिनसक्दै दुर्घटना परेर ज्यान गुमाए ।

पढाइमा अब्बल र सामाजिक रुपमा समेत सक्रिय युवा कहलिएका पुनको मृत्युले परिवारमा मात्रै होइन सिंगो गाउँ नै शोकमा डुबेको छ यतिबेला । म्याग्दीको पाखापानी घर भई विगत केही बर्षदेखि बेनी बजारमा बस्दै आएका पुनका केही महिना देखि पोखरामा भाषा परिक्षा सिक्दै आएका थिए । विहिबार उनी परिक्षा दिनकै लागि भनेर बेनीबाट पोखरा सम्म जानका लागि नारायणगढको बसमा सवार गरेका थिए । ‘म सँग त खासै सल्लाह पनि गरेन, आमा सँग पोखरा जान्छु भनेर घरबाट विहानै हिडेको भाईको यो अवस्था देख्दा सपना जस्तै लागेको छ’ मृतक पुनका दाजु रमेश पुनले भने ‘ट्याक्सीमा नै गएको भएपनि नपुग्ने केही थिएन, आखिर यस्तो लेखेको रैछ’ भावुक हुँदै उनले भने ।

विहान बेनीबाट पोखरासम्म गएर त्यहाँ साथीको मोटरसाईकलमा काठमाण्डौ जाने योजना सहित बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्बरको बसमा चढेका पुनको मालढुंगामा दुर्घटनामा ज्यान गएको छ । पुनले बसमा प्रवेशगर्दा वित्तिकै आफ्नी दिदीलाई फेसबुकमा समेत काठमाण्डौ जान लागेको जानकारी गराएको परिवारलाई उद्धित गदैं माउण्ट एभरेष्ट बोडिङ्गका प्रिन्सीपल राजु केसीले बताए । बाल्यकालमा पाखापानीको अमर माविबाट आधारभुत तहमै अध्ययन गर्न बेनीमा आएका पुन मंगला गाउँपालिका ५ अर्मनका मृगौला पीडित शुरेश बचाउ अभियानमा समेत सक्रिय थिए ।

आफ्नै सहकर्मीको उपचारमा उनले आर्थिक जुटाउन खेलेका भूमिकालाई समेत विद्यालयले सम्झिएको छ । त्यस्तै खेलकुद प्रतियोगितामा समेत सक्रिय पुनले दुईपटक माउण्टबाट जेसीज कपमा सहभागिता जनाएका छन् । उनले गाउँमा हुने सामाजिक गतिविधिमा समेत पुनल आफ्नो क्षमताले भ्याएसम्म सघाउने गरेको स्थानीयको भनाई रहेको बताए ।

पुन मात्रै होइन विहिबार बेनीबाट छुटेको ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा पुन सहित सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । बेनी मालढुंगा सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भयो भने ४ जनाको अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पर्वतको जलजला गाउँपालिका वडा नं ७ का श्रीमान श्रीमतीले ज्यान गुमाए ।

४० बर्षिय सेती परियार र उनका श्रीमान ५० बर्षिय टिके परियारको एउटै दुर्घटनामा ज्यान गयो । पर्वतको जलजला गाउँपालिका ७ की ५० बर्षिय अमिसरा पुन, बागलुङ ४ कुँडुलेकी ४८ बर्षिया शान्ति केसी र जलजला ७ का २२ बर्षिय जीवन विक र भरतपुर महानगरपालिका ८ का सुब्बे परियार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्