६ महिनामा २ हजार ५ सय ९८ सवारी कारवाही



गुल्मी ।
जिल्ला ट्राफिक कार्यालय गुल्मीले आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा २ हजार ५ सय ९८ वटा सवारी साधनमाथी कारवाही गरेको जनाएको छ । गएको साउनदेखि पुस सम्मको तथ्याङ्क अनुसार ट्राफिक नियम उल्लंघन गरी सवारी चलाए वापत जिप,बस,कार,मोटरसाइकल,ट्याक्टर,ट्रक लगायतका सवारी साधन कारवाहीमा परेका थिए ।

नियम बिपरित चलाएका सवारी साधनमाथी गरिएको कारवाहीमा रु. १५ लाख ५४ हजार राजश्व असुली गरि बैंकमा दाखिला गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम र सवारी दुर्घटना कारण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि बिद्यालय,चालक र सहचालक हरुलाई ९ पटक ७ सय ७९ जनालाई सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सुरु गरेको सचेतना कार्यक्रम गुल्मीमा प्रभावकारी ढङ्गबाट सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालनमा रहेको छ ।

दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुन लागु गरेका हुन् । दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्