ज्ञान निकेतन बास्केटबलको तयारी पूरा



काठमाडौं, (नेस)
ज्ञान निकेतन स्कुलको आयोजनामा हुने १८ औं ज्ञान निकेतन प्लस टु बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनका आर्थिक निर्देशक सञ्जयजित कुँवरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ११ ब्वाइज टिमको सहभागिता रहने छ ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा टाइम्स, सेन्ट जेभियर्स र ट्रिनिटी तथा समूह ‘बी’ मा सीसीआरसी र ओमेगा छन् । त्यस्तै आयोजक ज्ञान निकेतन, ग्रिनफिल्ड र ह्वाइटहाउस समूह ‘सी’ तथा बर्नहार्ट, इन्साइट भिजन र जेभियर इन्टरनेसनल समूह ‘डि’ मा छन् । गत संस्करणको विजेता प्राइम भने प्रतियोगितामा सहभागी नहुने भएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आर्थिक निर्देशक कुँवरले जानकारी दिए । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ । फाइनल माघ १० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्