प्रमको इच्छाशक्ति विपरीतका पाइलाहरू



-केशव अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी, सरकारी सचिव आदिलाई देशको समग्र उन्नतिको लागि आ–आफ्ना क्षेत्रबाट देशको भलो हुने काम गर्न निकै पटक सुझाव दिइसकेका छन् । यो सुझावले केही क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।

तथापि, प्रधानमन्त्रीको सुझावलाई सकारात्मकरूपमा आत्मसात् गर्न सक्ने कर्मचारी, प्रशासक, मन्त्री वा अन्य जो–कोहीले पनि सकारात्मक परिवर्तन ल्याउन सकेका छन् । यता प्रमको सुझावलाई नकारात्मकरूपले आत्मसात् गर्ने सरकारी, कर्मचारी, प्रशासक, मन्त्री, जोसुकैले पनि सरकारी कामप्रतिको आफ्नो नकारात्मक सोचाइ र यसबाट उत्पन्न हुने हरेक क्रियाकलापलाई नकारात्मक ढङ्गबाट अगाडि बढाउन खोज्दै छन् र बढाउँदै छन् । यसरी सकारात्मक प्रवृत्तिलाई आत्मसात् गर्न नसकेर समयअनुसार परिमार्जन हुन सक्ने कर्मचारी, मन्त्री आदिको सङ्ख्या ज्यादै न्यून छ ।

साथै धेरै प्रतिशतका कर्मचारी हुन् वा मन्त्री, प्रशासक जोसुकै हुन्, तिनको मानसिकता नकारात्मक सोचले भरिएको छ । देशको प्रधानमन्त्री वा उनीहरूभन्दा माथिको जोसुकैले सकारात्मक सुझाव दिए पनि त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अहिलेको समयको ज्वलन्त माग थियो । देशको त्यो माग पूरा गर्ने बाटो ज्यादै कठिन छ । त्यो कठिन बाटोमा प्रधानमन्त्री वा मन्त्री, अथवा कर्मचारी जोसुकै भए पनि एक्लै हिँड्न सक्ने हैसियत राख्दैनन् । तर सामूहिक रूपमा सबैले पाइला मिलाएर हिँडेको खण्डमा सफल नहुने भन्ने कुरै छैन । यही सफलतालाई चुम्नको लागि र आमजनताका सुख–सुविधालाई बहाली गराउनका लागि प्रमको नेतृत्वमा मन्त्री, राज्य वा सहायक मन्त्री, सचिव आदिलाई मिलाएर सरकार बनिएको हो वा बनाइएको हो ।

सरकारभित्रको सबैभन्दा ठूलो प्रशासक प्रधानमन्त्री हुन्छन् भने उनको सही निर्देशन पालना गर्ने, अरू सर्वसाधारणलाई पालना गर्न लगाउने कामको जिम्मा पाएका मन्त्रालय वा अझै तल्ला निकायमा विनियोजन गरिएको हुन्छ । मन्त्रीले भन्दा प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार मातहतका सबैजसो मन्त्रालयको जवाफदेहिताको भारसमेत बहन गर्नुपर्ने हुन्छ । यदि कुनै पनि मन्त्रालयका मन्त्री वा राज्यमन्त्री जसले भए पनि प्रमको सुझावलाई आत्मसात् गरेर तदनुसारकै काम गर्न सकियो भने प्रधानमन्त्रीको समेत सन्तुष्टिको विषय बन्न सक्छ । प्रधानमन्त्री स्वयम् सन्तुष्ट भएका खण्डमा आमजनताका इच्छाहरू पनि त्यहाँ सम्बोधित भएका हुन्छन् । त्यसैले आमजनता असन्तुष्ट हुने स्थान नै रहँदैन ।

हाम्रो विडम्बना यो रहेको छ कि, हाम्रा सरकारी कर्मचारीहरूमध्ये धेरैजसोलाई एक वर्षभरिका ६ महिनाभर बिदा होस्, त्यो बिदामा आफू तास खेल्दै मनोरञ्जन गरेर बस्न पाइयोस् भन्नेजस्ता निजवादी सोचहरू रहेका छन् । जसको ज्वलन्त उदाहरण भनेको विगतमा अनुपयुक्त सम्झेर कटौती गरिएका कैयौं राष्ट्रिय बिदाहरू सरकार फेरि थप्न वा कटौती नगर्न बाध्य बन्दै छ । यस्ता नकारात्मक निजी सोचाइले गरेका धेरैजसो कार्यहरू असफल बन्न पुग्छन् । जुनसुकै कर्मचारी होस् कि मन्त्री वा प्रधानमन्त्री, जोसुकै किन नहोस्, उसको मानसिक सोचाइको घेरोले सकारात्मक सोच र कार्यान्वयन पक्षभित्रको कार्यलाई पूरा वा सम्पन्न गर्न बाधकको काम गरिरहेको हुन्छ भन्दा फरक नपर्ला ।

कर्मचारीतन्त्रभित्र पनि हैकमवादी प्रवृत्ति गाँजिएको पाइन्छ । कुनै काम मैले गर्ने होइन, फलानाले गर्ने हो, यदि मैले त्यो काम गरेँ भने मेरो इज्जत जान्छ आदि नकारात्मक सोचले धेरैलाई गाँजेको पाइन्छ । यो गँजाइले कुनै पनि कार्यसम्पादन गर्नमा बाधा उत्पन्न गर्छ । यो नकारात्मक सोचले देशको उन्नतिमा बाधा त पार्छ नै, त्यस्तो प्रवृत्तिका जोसुकैको जीवनलगायत हरेक समाजको उन्नतिमा समेत बाधक तत्व बन्न पुग्छ ।

हालको सन्दर्भमा भन्ने हो भने, सरकारबाट अलग रहेको प्रमुख प्रतिपक्षी दल आफ्नै तालमा पीडा भोग्दै छ वा रमाउँदै गरेको पाइन्छ । प्रतिपक्षी दल रचनात्मक सहयोग गरेर देशको समग्र उन्नतिको खाकामा होइन, अबको चार वर्ष वा पूर्ण समय उपयोग गरेर यस सरकारले केही देखिने काम गर्न सक्यो भने आफू छायामा परिएला कि भन्ने भयले आक्रान्त छ ।

काममा बाधा पु¥याउने तेस्रो बाधक प्रवृत्ति भनेको कुनै ठूलो ओहोदामा बसेर काम गरिसकेपछि वा समय पुगेर अवकाश पाइसकेपछि त्योभन्दा न्यून स्तरको काम गर्नै नहुने भन्ने सोचाइले धेरै कर्मचारी, मन्त्री, प्रधानमन्त्रीसमेतलाई सताएको छ । जसको उदाहरणको रूपमा अमेरिकाजस्तो देशका पूर्वराष्ट्रपति बाराक ओबामाले निकै लोकप्रिय बनेर दुई कार्यकालको राष्ट्रपतिको उच्च पदमा आसीन रहेर अवकाशप्राप्त भइसकेपछिका दिनमा आफ्नो पहिलेकै काममा विनालाज फर्केका छन् र आज पनि पुरानै काम सम्हाल्दै छन् । अझ पहिलेका एकजना राष्ट्रपति राष्ट्रपति बन्नुअगाडि कलेजका प्राध्यापक थिए ।

उनले राष्ट्रपतिको चुनाव जितेर आफ्नो कार्यकालभरि निकै लोकप्रिय भएरै काम गरे । अबकाश पाएपछिका दिनमा उनी पनि आफ्नो पुरानै पेसामा फर्केका थिए । हाम्रो देशका पूर्वराष्ट्रपतिले मनैदेखि नमान्दै गर्दा पनि र आफ्नै जन्मस्थलतिरै गएर बस्ने मनसाय व्यक्त गर्दै गर्दा पनि बलजफतसित काठमाडौंमा महल भाडामै लिएर सरकारले भाडा तिरिदिने गरी बसाइन्छ । यदि भूतपूर्व भीआईपीहरूले उनीहरूको कार्यकालको कुनै खण्डमा देशहितका काम गर्न सकेका रहेछन् र उनीहरू पैसा नपाएरै खान पाएनछन् वा मृत्यु हुने नै अवस्था आएछ भने त तीन करोड जनताको सहानूभूतिले एक–एक रुपियाँ जम्मा गरेर पनि पैसा सङ्कलन गरेर खुवाउँछन् वा रोगको उपचार गराउन सकिन्छ ।

नेपालको इतिहासको पानामा हेर्ने हो भने २०६२ देखि हालसम्म्को एउटा कालखण्ड निकै महत्वपूर्ण कालखण्डको रूपमा हिँडेको पाइन्छ । यो कालखण्ड धेरै वस्तुको परिवर्तनको, धेरै तरिकाको परिवर्तनको, धेरै तरिकाका राजनीतिक प्रयोगको र एउटा सफल राजनीतिक प्रयोगको कालखण्डको रूपमा मान्नुपर्छ । यस्तो महत्वपूर्ण कालखण्डमा हिँड्दै गर्दा आमनेपाली जनताका यतिन्जेल करिब गुम्सेर रहेका इच्छा, र चाहनालाई क्रमशः नहडबडाई पहिचान र सम्बोधन गर्दै लैजान सक्नुपरेको छ ।

आजको आमनेपाली जनताले हाम्रो देशका हरेक सरकारी र अर्धसरकारी कार्यालयमा आफूले सोचेजस्तै गरी छिटोछरितोरूपमा काम बन्न वा काम हुन सकोस्, कसैले पनि काम ढिलो गरेर घूस खाने काम नगरुन्, चाँडो गरेको काम पनि परिपक्व र विश्वसनीय बनोस् भन्ने चाहना राखेका छन् । त्यसैले हरेकजसो सरकारी कार्यालय, बैङ्क आदिमा सेवाग्राही बनेर पुगेका आमजनताले लोसे काम गर्ने कर्मचारीलाई गाली गरेको सुन्न पाइन्छ, । जुनसुकै त नभनौं तर धेरैजसो सरकारी कार्यालयहरूमा चिया खाने पैसा नभई एकपित्को काम पनि हुँदैन । कि त घूसको बदला कुनै आफ्नो ठूलो ओहोदाको मान्छेले दबाब दिनुपरेको हुन्छ, होइन भने काम बन्ने मौका कमै हुन्छ ।

हालका हाम्रा प्रधानमन्त्रीले बारम्बार काम गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । यो जाहेरी पनि कुनै निराशाको निश्वास नभई निकै उत्साहको अभिव्यक्ति बन्दै गरेको पाइन्छ । उनका अभिव्यक्तिलाई मनन गर्दा उनीभित्र त अथाह इच्छाशक्ति रहेको छ र पवित्र भावनाले काम गर्न चाहन्छन् पनि होला तर देशको उन्नतिको इच्छा पटक्कै नभएका र आ–आफ्नो स्वार्थमा लिप्त रहेका कर्मचारी, मन्त्री, सचिव जोसुकै हुन्, तिनीहरू प्रधानमन्त्रीको इच्छाशक्तिले देखेको र निर्देश गरेको बाटोबाट अलग्गै वा विपरीत दिशातिरको बाटोमा यात्रा गर्न चाहन्छन् ।

समग्र देशको प्रशासन हेर्ने प्रशासकलाई प्रतिपक्षी राजनीतिक दलको पनि रचनात्मक सहयोग आवश्यक पर्दछ । तर हालको सन्दर्भमा भन्ने हो भने, सरकारबाट अलग रहेको प्रमुख प्रतिपक्षी दल आफ्नै तालमा पीडा भोग्दै छ वा रमाउँदै गरेको पाइन्छ । प्रतिपक्षी दल रचनात्मक सहयोग गरेर देशको समग्र उन्नतिको खाकामा होइन, अबको चार वर्ष वा पूर्ण समय उपयोग गरेर यस सरकारले केही देखिने काम गर्न सक्यो भने आफू छायामा परिएला कि भन्ने भयले आक्रान्त छ । दोस्रो कुरा, प्रतिपक्षीको आफंैभित्रको रडाकोलाई सत्ता हात नलाउँदासम्मका दिनमा साम्य पार्न सकिने अवस्था दृष्टिगोचर हुँदैन ।

यसरी सबैतिरबाट घेराबन्दीमा परेका र सर्वत्र असहयोगको मार खेपेका प्रधानमन्त्रीले अहिले पनि देशको उन्नतिको लागि गरिने कामको अग्रसरताको प्रतिबद्धता राम्रैसँग प्रस्तुत गर्दै छन् । यस्तो अवस्थामा जुनसुकै राजनीतिक दलका नेता, सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी र आमजनताले पनि बाधक बनेर होइन कि अग्रसर बनेर मनले, बचनले र सबैभन्दा ठूलो कर्मले आत्मसात् गर्न सकियो भने नेपालजस्तो अथाह प्राकृतिक सम्पत्तिले ढाकिएको र सानो देशको उन्नति गर्न कति पनि समय लाग्नेछैन । तर हाम्रा प्रधानमन्त्रीको इच्छाशक्तिसँग हामी सबैका पाइला एकैसाथ अगाडितिर स्वस्फूर्तरूपले अगाडि बढ्न सकेका खण्डमा मुलुक र हाम्रो भविष्य निकै उज्यालो क्षितिजमा चम्कन तयार बन्दै जानेछ । यदि केही पाइला अज्ञानतावश विपरीत दिशामा अगाडि बढेका वा बढ्दै छन् भने एकपटक पछाडि फर्केर हेरी अब चाँडै ती पाइलालाई विपरीत दिशातिर फर्काएर क्रमशः अगाडि बढाउन सक्नुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्