नेपालसँग थाइल्यान्ड निरीह



काठमाडौं, (नेस)
नेपालले थाइल्यान्ड महिला टी २० स्मास क्रिकेट प्रतियोगितामा आयोजक थाइल्यान्डलाई निरीह सावित गरेको छ ।

बुधबार बैंककस्थित मैदानमा भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । जसमा थाइल्यान्ड १५.४ ओभरसम्म खेल्दा पनि १९ रनमै अलआउट भएको थियो । टोलीका कोही पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालको तर्फबाट आरती बिडारीले ४ ओभरमा एक मेडनसहित ४ रन खर्चेर ३ विकेट लिइन् । उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन् ।

यस्तै नेपालका अन्य बलरमा इन्दु बर्माले २ ओभरमा २ रन दिएर २ विकेट हात पारिन् । सरिता मगरले पनि २ विकेट हासिल गर्न ३ ओभरमा ४ रन दिएकी थिइन् । त्यस्तै कप्तान रुबीना क्षेत्री, सोनु खड्का र सीता मगरले १–१ विकेट लिएका थिए ।

२० रन पछ्याएको नेपालले ३.३ ओभरमै १ विकेटको नोक्सानमा लक्ष्य पुरा गरेको थियो । ओपनर ममता चौधरी १ चौका प्रहार गर्दै व्यक्तिगत ८ रनमा पवेलियन फर्केकी थिइन् । उनलाई मायाले आउट गरेकी थिइन् । यसपछि नेरी थापा ५ रन र डली भट्ट २ रनमा नटआउट रहँदै नेपाललाई जित दिलाएका थिए ।

प्रतियोगितामा यो नेपालको चौथो जित थियो । समूह ए बाट ८ अंकसहित शीर्ष स्थानमा हुँदै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले सेमीफाइनल खेलमा समूह बी मा उपविजेता रहेको इन्डोनेसियासँग शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्