बिशेषज्ञ सहितको टोलीले गर्यो स्वास्थ्य परीक्षण, केसीको अवस्था खतरामा



गणेश घिमिरे, इलाम । सोहौं सत्याग्रहमा बसेका डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोली बुधबार इलाम आएको छ ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा साँझ इलाम आइपुगेको टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षण पछि पत्रकारलाई जानकारी गराउँदै डा. बिकास शाहले डाक्टर केसीको अवस्था गम्भिर बनेकोले उहांको ज्यान खतरामा रहेको बताउनुभयो । उहांलाई कुनैपनि समयमा जे पनि हुनसक्ने उहांले बताउनुभयो ।

मुटु, घाँटी, पेट, टाउको लगायत सबैमा समस्या देखिएको र अवस्था एकदमै गम्भिर बनिसकेको डा. शाहले जानकारी दिनुभयो । ‘इमरजेन्सीका लागि आवश्यक सम्पूर्ण सामानहरु ल्याएका छौं’ उहांले भन्नुभयो– त्यो केही घण्टाका लागिमात्र भएकाले डा. केसीलाई तत्काल सुबिधासम्पन्न अस्पतालमा लगि सिसियू तथा आइसियूमा उपचार गराउनु पर्दछ ।’

डा. केसीले भने इलाम छाडेर कहीँ नजाने अडान लिनुभएको छ । डा. केसीको स्वास्थ्य अवस्था बुझन र उहांको स्वास्थ्य परीक्षणका लागि डा. शाहको नेतृत्वमा सातजना चिकित्सक इलाम आएका थिए ।

कार्डियोलोजिष्ट विभागका डा. प्रशान्त शाह, मेडिसिन इमर्जेन्सी बिभागका डा. अजय यादव, आईसियू हेर्ने डा. सविन भण्डारी, ल्याव टेक्निसियन दिपेन्द्र यादव र नर्स रचना सहितको टोली इलाम आएको हो । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा चिकित्सकको टोली इलाम आएको बताइएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर डाक्टर केसी गत पुस २५ गतेबाट अनसनमा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्