डा. केसीको माग बारे कांग्रेसले भन्यो- दोहोरो चरित्र अन्त्य गरियोस



नेपाल समाचारापत्र, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भुमिकाका कारण प्राध्यापक डा. गोविन्द केसी अनसन बस्न बाध्य भएको ठहर गरेको छ । डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले प्रधानमन्त्री कै अग्रसरता र वचनको सम्झौता इमान्दारी पूर्वक कार्यान्वयन हुन नसक्नु दुःखद र दुर्भाग्यपूर्ण भएको पनि जनाएको छ ।

डा. केसीले थाल्नु भएको आमरण अनसन आठ दिन पुग्दै गर्दा उहाँको विग्रदै गएको स्वास्थ्य स्थिति र सरकारको संवेदना शून्य भूमिकाप्रति कांग्रेस सचेत भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना सून्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद भएको बताउनुभयो ।

वुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले डा. केसीको अनशन र माग बारेमा सरकारलाई तत्काल गम्भीर बन्न आग्रह पनि गर्नुभएको थियो ।

‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा.केसीसंग पछिल्लो सम्झौता भएको थियो । तर, संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत त्यसलाई खण्डित गरेको आरोप उहांले लगाउनुभयो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ ।’ प्रवक्ता शर्माले भन्नुभयो– प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण यस्तो स्थिति उत्पन्न भएको हाम्रो ठहर छ ।

प्रवक्ता शर्माले अब प्रधानमन्त्रीका सामुन्ने तत्कालै सहमतीमा फर्कने या चौतर्फी दबाब पर्खने दुई वटा विकल्प मात्र बाकी रहेको बताउनु भएको छ ।
चिकित्सा शिक्षामा विगतमा विस्तारको अगुवाई र पछिल्लो समयमा यसको सुधारमा अग्रसर भुमिका निभाई रहेको कांग्रेस आम नागरिकको भावना विपरितको विधेयकलाई समर्थन गर्न नसक्ने पनि उहाले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्