नेपाल टेलिभिजनभित्र ब्रह्मलुट



काठमाडौं।
नेपाल टेलिभिजन एक पछि अर्को गर्दे भद्रगोल अबस्थामा पुगेको छ । जनताको करबाट संचालित टेलिभिजनलाई त्यहाँको व्यबस्थापनले दुहुनो गाई बनाएको छ ।
निजी टेलिभिजनहरु बिना हल्ला एचडीमा गएको निकै लामो समयपछि सरकारले दिएको करोडौँ रकम खर्च गरेर एचडीमा जान लागेको बहनामा नेपाल टेलिभिजनको नेतृत्वले आफनो जीवन भरका लागि कमाउने धन्दाको रुपमा बिकास गर्ने गरी योजना बनाएको स्वयं टेलिभिजनका कर्मचारीहरुले बताएका छन् ।
एचडीको लागि प्राविधिकहरुले काम गर्नुपर्ने भन्दै बिगत एक महिनादेखि साझ विहान भोजभतेर समेत चल्ने गरेको पाइएको छ । नेपाल टेलिभिजनमै सञ्चालन हुने जनतासँग प्रधानमन्त्री कार्यक्रमका दिन बुधबार साँझ सबैलाई दरिलो खाजाका प्याकेट ल्याउने गरिन्छ । टेलिभिजनमा बिगतका वर्षहरुको तुलनामा नेपाल टेलिभिजनको बर्तमान नेतृत्व आएपछि भण्डै चार करोड आम्दानी घटेको लेखा महाशाखाले जनाएको छ ।

आम्दानी घट्ने तर खर्च बढाउने काम तिब्र रुपमा भएकोमा टेलिभिजन कर्मचारी युनियनले ब्यबस्थापनको ध्यानाकर्षण गराएको बताइएको छ । साथै टेलिभिजनमा भएका कर्मचारीहरुलाई काम लगाउन असक्षम बर्तमान ब्यबस्थापनले एचडीमा जाने बहाना बनाएर लाख भन्दा बढि  टेलिभिजनलाई थप आर्थिक व्यायभार पर्ने गरी १ सय ३० जना दरबन्दी थप गर्नका लागि प्रस्ताब संचार मन्त्रालयमा पठाएको छ । बिगत बर्षको तुलनामा बितेको चार महिनामा मात्रै ४ करोड कम आम्दानी भएको अबस्थालाई कुनै बिचार नै नगरी बिना योजना दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ  ।

तर, नेपाल टेलिभिजनको यस्तो अनियमितताबारे अध्यक्ष विष्टसँग कुरा गर्दा उनले यस्ता सबै कुरा गलत भएको दावी गरे । उनले भने ‘समाचारमाध्यम र विभिन्न अनलाईनमा आएका यी सबै कुरा गलत हुन, यहाँ टेलिभिजनले राम्रो गरेको देख्न नचाहानेहरु धेरै छन्, यसमा ठुलो षड्यन्त्र रचिएको छ ।’

टेलीभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्ट मन्त्री गोकुल बास्कोटालाई एचडीमा जानुपर्ने भएको बहाना बनाएर कुनै पनि हालतमा दरबन्दी स्वकृतिका लागि ब्यापक पहल गरिदिन भन्दै दिनहुँ मन्त्रालय धाउने गरेको मन्त्रालय स्रोतले बताएको छ । काम नगरी राजनीति गरेर हिडने र समाचार महाशाखामा धेरै जुनियर रहेका कर्मचारीलाई पनि सिनियरकै दाजोमा बढुवा गर्ने गरी दरबन्दी माग गर्ने निर्णय गरेर टेलिभिजनले संस्थालाई थप कमजोर बनाउने पहल गरेको छ ।

दरबन्दी थप गर्नका लागि नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेको नेतृत्वमा एक उपसमिति बनाइएको र सो उपसमितिले लामो समय अध्ययन गरेर प्रतिबेदन संचालक समिति समक्ष पेश गरेको थियो । सो समितिले समाचार महाशाखामा पनि बैज्ञानिक ढंगले ९ तह, ८ तह, ६ तह र ५ तहमा आवश्यकता अनुसार दरबन्दी थप गरेको र अन्य महाशाखामा पनि दरबन्दी थप गर्न सिफारिश गरेको थियो । तर समाचार महाशाखामा बिना आधार र बिना अध्ययन काम नै नगरी समय बिताउनेहरुलाई खुशी पार्ने गरी अध्यक्ष बिष्ट र महाप्रबन्धक रोक्का सहितको उच्च नेतृत्वले निर्णय गरेको छ ।

उपसमितिले ८ तहमा एक जना दरबन्दी थप गर्न बैज्ञानिक र आबश्यकता पनि त्यत्तिमात्र भएको प्रस्ताव गरेको तर संचालक समितिले बिना अध्ययन , उपसमितिको सिफारिशलाई लत्याउदै ८ तहमा मात्रै ७ जना थप गर्ने निर्णय गरेको छ । यसैपनि माथिल्लो पदमा पुगेपछि काम नगरी हल्लिने प्रबृत्ति टेलिभिजनमा क्यान्सर रोग जस्तै रहेको छ त्यहि प्रवृत्तिलाई थप संस्थागत गर्ने गरी एउटै महाशाखाखा संगठनको पिरामिडलाई समेत च्यातचुत गरी माथिल्लो पद थप गर्ने दुर्भाग्यपुर्ण काम भएको भन्दै स्वंय कर्मचारीहरुले विरोध पनि गर्ने गरेको पाइएको छ ।

चार, पाँच वर्ष सिनियर पत्रकार, कर्मचारी र जुनियर पत्रकारहरुलाई एक साथ बढुवा गर्ने र सधै तिनै हिजो देखि हाली मुहाली गरेकाहरुलाई जिम्मेबारी ्िदने र सिनियरहरुलाई हतोत्साहित बनाउने उद्धेश्यका साथ समाचार महाशाखाभित्र तीन महिना अध्ययन गरेर सिफारिश गरेको उपसमितिको प्रतिबेदन बिपरित टेलिभिजनको नेतृत्वले सस्थालाई चरम गुटबन्दीर छाडा प्रबृत्तिको बिकास गर्ने निर्णय गरेको छ । काम गर्नेले गरिरहने र तर काम नगर्नेले सधै नगर्दा पनि टेलिभिजनमा पुर्ण छुट रहेको बुझिएको छ ।

बिगतको ब्यबस्थापनमा भन्दा अहिलेको ब्यबस्थापनमा झन दण्डहीनता बढेर गएको छ । यता, बिना टेण्डर करोडौं नोक्सान पारेर पुन उही ०१२ मा गरेको सम्झौतालाई टेकेर स्याटेलाइटमा जाने काम भएमा राम्रो हुदैन भनेर संसदको बिकास समितिका सांसदहरुले खबरदारी गरिसकेको भएपनि टेलिभिजनको ब्यबस्थापन जबर्जस्ती थाइकममा जाने योजनाका साथ लागेको छ । त्यती मात्र नभई थाइकम बिरुद्ध बोल्ने कर्मचारीहरुलाई हप्काउने दप्काउने सम्मको काम गर्न थालेको बताइएको छ । तर, बिना टेण्डर थाइकमकै स्याटेलाईटमा गएमा बार्षिक चार करोड नोक्सान हुने पक्का छ । स्याटेलाईटको हालको बजार रेट पर मेघाहर्ज १८ सय डलर मासिक भएपनि टेलिभिजनको बर्तमान नेतृत्व बिगत १० बर्ष अगाडिकै दररेट परमेघाहर्ज ३४ सय ९० डलर तिर्ने गरी बिना टेण्डर सम्झौता गर्न खोजेको गोप्य स्रोतले बताएको छ ।

टेलिभिजनको बार्षिकोत्सब माघ १७ मै एचडीमा जानुपर्छ भनेर राज्यको ढिकुटी सिध्याउने गरी बर्तमान ब्यबस्थापन लागेको थाहा भएको छ । स्थाटेलाईटको टुगो नलगाउदै एचडीका नाममा झण्डै ४० करोडको समान खरीद गरिसकिएको छ र सोही समान खरीद गर्ने सन्दर्भमा अध्यक्ष बिष्ट, महाप्रबन्धक रोक्का सहित टेलिभिजनका ४५ भन्दा बढी कर्मचारीले बिगत डेढ महिना भित्र बिदेश शयर समेत गरिसकेका छन ।

स्याटेलाईट थप गर्नका लागि महाप्रबन्धक रोक्काको सयोजकत्वमा गठित उपसमितिले पहिलेकै दररेटमा सम्झौता गर्न नमिल्ने राय सिफारिश संचालक समिति समक्ष पेश गरेको छ तर टेलिभिजनको उच्च ब्यबस्थापन सो प्रतिबेदनलाई पनि धोती लगाउने तयारीका साथ बिभिन्न महाशाखाहरुलाई पत्र लेखि जसरी पनि एचडी मा जाने अन्तिम तयारी गर्न निर्देशन दिएको छ । बिगतमा स्वंय मन्त्री बास्कोटाले पनि पटक सार्वजनिक रुपमा थाइकमसंग ०२२ सम्म भएको सम्झौताले टेलिभिजनलाई करौडौ घाटा लागेकोले तत्काल सम्झौता रद्ध गर्ने प्रक्रियामा जान आग्रह गरेको कुरा नेपाल टेलिभिजनको समाचारमा समेत प्रसारण भएको थियो तर बिष्ट कार्यकारी पदमा आएपछि थाइकमका समर्थक नायब महाप्रबन्धक दीपकमणि धिताल समेतको सहभागितामा मन्त्रीसंग कुरा गरेपछि उनी पनि यतिखेर थाइकमकै पक्षमा उभिन लागेको कुरा पनि बाहिर आएको छ ।

तर, नेपाल टेलिभिजनको यस्तो अनियमितताबारे कार्यकारी निर्देशक विष्टसँग कुरा गर्दा उनले यस्ता सबै कुरा गलत भएको दावी गरे । उनले भने ‘समाचारमाध्यम र विभिन्न अनलाईनमा आएका यी सबै कुरा गलत हुन, यहाँ टेलिभिजनले राम्रो गरेको देख्न नचाहानेहरु धेरै छन्, यसमा ठुलो षड्यन्त्र रचिएको छ ।’

प्रतिक्रिया दिनुहोस्