घरमै सुत्केरी हुने परम्परालाई निरत्साहित गर्न सुत्केरी प्रोत्साहन भत्ता



पाल्पा ।
परम्परागत रुपमा घरमै सुत्केरी हुने चलन रहेकाले त्यसलाई निरुत्साहित गर्न पूर्वी पाल्पाको माथागढी गाउँपालिकाले महिलाहरुलाई सुत्केरी प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । यस अभियान पूरा गर्नका लागि स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउने अभियानलाई तीव्रता दिने र प्रत्येक सुत्केरीलाई भत्ता उपलव्ध गराउने गाउ पालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थामा समस्या आउन सक्ने भएकाले त्यसलाई निरुत्साहित गर्न संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न पोषण रकम वितरण अभियानलाई तीव्रता दिएको गाउ पालिकाका अध्यक्ष सन्तोष कुमार थापाले वताए । सोही अनुरुप गाउँपालिकाले वडा ३ कसेनीका ३५ जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेको छ ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले गाउँपालिकालाई शून्य होमडेलिभरी गाउँपालिका बनाउने उद्देश्यले महिलाहरुलाई प्रोत्साहन कार्यक्रम ल्याइएको बताए । उनले भने ‘परम्परागत रुपमा घरमै सुत्केरी हुने चलन रहेकाले त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको छ ।’

घरमै सुत्केरी हुँदा बच्चा र आमाको स्वास्थ्य जोखिम हुने भएकाले स्वास्थ्यचौकीमै गएर सुत्केरी हुने महिलाहरुका लागि गाउँपालिकाले दुई हजार पाँच सयका दरले रकम दिदै आएको अध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्य संयोजक यम चिदीले घरमै सुत्केरी हुँदा विभिन्न रोगहरुले संक्रमण गर्नुको साथै आमा र बच्चाको स्वास्थ्य खतरा हुने भएकाले सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीमा गएर मात्रा सुत्केरी हुन आग्रह गरे ।

कार्यक्रममा वडा अध्यक्ष दिपक थापा मगर, कसेनी स्वास्थ्य चौकीका इञ्चार्ज ध्रुर्व सुनार, सह–इञ्चार्ज गोविन्द भट्टराई लगायतले मानिस स्वस्थ रहे मात्र समृद्वि हुने भएकाले स्वस्थ रहनुपर्ने धारणा व्यक्त गरे । यस वडाका अधिकांश महिलाहरु स्वास्थ्य चौकीमै गएर सुत्केरी हुने भएकाले यस अघि नै प्रदेश पाँचमै पहिलो पटक संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । गाउँपालिकाका सबै वडाहरुलाई संस्थागत सुत्केरी गराई आमा र बच्चाको स्वास्थ्यलाई स्वस्थ राख्न गाउँपालिका सक्रिय रुपमा लागेको छ ।

यस वर्षको मंसिर मसान्तसम्ममा संस्थागत रुपमा सुत्केरी हुने महिलाहरुको तथ्याड्ढ एक सय १४ आईपुगेको र उनीहरुका लागि पोषण रकम पनि पठाई सकिएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । अघिल्लो वर्ष गाउँपालिकाले संस्थागत सुत्केरी हुने दुई सय ८० जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन रकम वितरण गरेको थियो ।

यस वर्ष भने तीन सयभन्दा बढी नै हुन सक्ने गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहुन् भनी गाउँपालिकाले आठ सय विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य बीमा समेत गरिदिएको थियो । सोही अनुरुप यस वर्ष पनि विपन्न परिवारका सदस्यहरु आधारभूत स्वास्थ्य सेवा नपाएर मृत्यु हुनु नपर्ने अवस्था सिर्जना गर्न स्वास्थ्य बीमा गरिदिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्