महानिर्देशकसहितका अधिकारी फेरिए



नेपाल समाचारपत्र, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसहित अन्य बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । यसअघिका महानिर्देशक डा.ऋषिराम शर्मा जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा हुनुभएको छ ।

विभागका उप–महानिर्देशक सरजु कुमार बैद्यले महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँहरु दुवैले शुक्रवारदेखि नयाँ जिम्मेवारी सम्हाल्नुभएको हो । शर्माले करिव साढे ६ वर्ष विभागको नेतृत्व सम्हाल्नुभएको थियो ।
यसैगरी विभाग मातहतको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको राष्ट्रिय निर्देशकको जिम्मेवारी विभागका उप–महानिर्देशक डा. जगदीश कर्माचार्यलाई तोकिएको छ ।

विगतमा वातावरण मन्त्रालय मातहत रहेको विभाग गत वर्षदेखि उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा गाभिएको छ । यसअघि विभागकै महानिर्देशक डा. शर्मा परियोजना निर्देशकसमेत हुनुहुन्थ्यो ।

अहिले मन्त्रालयले विगतको व्यवस्था हटाउँदै उप–महानिर्देशकलाई नै परियोजना निर्देशकको जिम्मेवारी तोकेको नवनियुक्त महानिर्देशक बैद्यले जानकारी दिनुभयो ।

विश्व बैंकको सहयोगमा सन् २०१३ देखि शुरु भएको सो परियोजनाको अवधि यही वर्ष सन् २०१९ सम्मका लागि तोकिएको छ ।
परियोजनाका सह–निर्देशकद्धयमा विभागका बरिष्ठ मौसमविद् शिवप्रसाद नेपाल र जलविद् राजेन्द्र शर्मा रहनुभएको छ ।

शर्मा आयोगमा सरुवा भएपछि विभागमा अब बैद्य र कर्माचाय दुईजना मात्रै सह–सचिव रहनुभएको छ भने तीनवटा महाशाखा नेतृत्वविहिन भएका छन् । विभाग मातहत हावा विज्ञान महाशाखा, मौसम पूर्वानुमान, जलविज्ञान र बाढी पूर्वानुमान महाशाखा छन् । हावा विज्ञान महाशाखा प्रमुखमा डा. कर्माचाय हुनुहुन्छ भने अन्य महाशाखा नेतृत्व विहिन छन् ।

रिक्त महाशाखा प्रमुख छिटै तोकिने बताउँदै नवनियुक्त महानिर्देशक वैद्यले भन्नुभयो–‘केही दिनमै रिक्त पदमा जिम्मेवारी तोकिन्छ, सामान्यतया विभागका वरिष्ठ अधिकारीहरु महाशाखा प्रमुख रहने प्रचलन छ ।’ रिक्त सहसचिव र अन्य अधिकारी नियुक्तीबारे मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्