बचत र ऋण कारोबारसँगै मानव सेवामा सहकारी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सहकारी संस्थाले बचत र ऋण कारोबार मात्र गर्दैनन्, आवस्यक परे मानव सेवामा पनि तत्पर हुन्छन् । बचत र ऋण कारोबारमै सहकारी संस्थाहरु सीमित भइरहेकाबेला बलेफी गाउँपालिकाको खाडीचौरमा स्थापित एक सहकारीले मानव सेवामा अग्रसरता देखाएको छ ।

जिल्लाका बलेफी, सुनकोसी र लिसंखुपाखर गाउँपालिकाको ब्यापारिक केन्द्र मानिने खाडीचौरको खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋण कारोबारको दायरालाई तोड्दै एम्बुलेस खरिद गरि सञ्चालनमा ल्याएको हो ।

शनिवार सहकारीको पाँचौ वार्षिक साधारणसभाका अवसरमा एम्बुलेन्सको उद्घाटन गरिएको छ । प्रदेशसभाका सांसद शरेस नेपालले एम्बुलेन्समा सजाइएको रिवन काटेर नयाँ एम्बुलेन्सको सेवा सुभारम्भ गरेका हुन् । सांसद नेपालले रिवन काटेर एम्बुलेन्स सुभारम्भ गरिरहँदा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले एम्बुलेन्स ‘ड्राइभिङ’ गरेरै उद्घाटन गरिदिए ।

तीन गाउँपालिकाको केन्द्र बजारमा एम्बुलेन्स संचालनमा ल्याएर खाडीचौर सहकारीले मानव सेवामा आफुलाई अघि बढाइरहेको सांसद नेपालले बताए । समयमै एम्बुलेन्स नपाएर नागरिकले अकालमै मर्नुपरिरहेकोप्रति इंगित गर्दै सांसद नेपालले सहकारी संस्ीथाहरुले मानव सेवाको सवाललाई प्राथमिकताका साथ अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

‘बचत र ऋण कारोबार मात्रै हैन मानव सेवामा पनि सहकारीहरु समर्पित हुँदैछन् भन्ने यस सहकारीले पुष्टि गरिदिएको छ’, सांसद नेपालले भने,‘अब यसभेगका जनताले समयमै उपचार नपाएर मर्नुपर्नेछैन ।’

कार्यक्रममा बोल्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले सहकारी संस्थालाई मानव सेवामा समर्पित गर्नका लागि गाउँपालिका आवस्यक योजनाका साथ लागिपर्ने प्रतिवद्धता गरे ।

खाडीचौर आसपासका भूगोलका जनताको सहजताका लागि आफुहरुले एम्बुलेन्स खरिद गरि संचालनमा ल्याइएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठ बताउँछन् । भन्सार छुटको प्रवन्ध मिलाएर ११ लाख रुपियाँमै एम्बुलेन्स ल्याइएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्