समुदाय-प्रहरी साझेदारी अवधारणाः स्वास्थ्य शिविर सम्पन्न



कालिकोट,
जिल्ला प्रहरी कार्यालय कालिकोटको सहकार्यमा पलाँता गाउँपालिका-९ थिर्पुस्थित सरस्वती माविमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत सार्वजनिक सुनुवाई एवं एकिकृत घुम्ती सेवा तथा निस्शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नेपाल प्रहरीको सहभागितामा यस कार्यक्रम अन्तर्गत आयोजना भएका स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रमले नेपाल प्रहरीप्रति आमनागरिकको जनविश्वासमा अभिवृद्धी हुने र प्रहरी संगको सहकार्यले एकिकृत घुम्ती शिविर थप प्रभावकारी भएको बताउनुभयो ।

सो अवसरमा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले विकट गाउँपालिकामा नेपाल प्रहरीको विशेष टोलीद्वारा उक्त शिविर संचालन गरिनु आफैमा अत्यन्तै महत्वपूर्ण रहेकोले नेपाल प्रहरीप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभयो । साथै उहाँले यस कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउन स्थानीय निकाय सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद शर्माले समुदाय-प्रहरी साझेदारी अन्तर्गतका विविध कार्यक्रमहरु जिल्लास्थित पालिका एवं विद्यालयस्तरिय समिति निर्माण गरी प्रभावकारी ढंगले अगाडी बढेको तथा प्रहरी प्रधान कार्यालयको सक्रियतामा नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी टोलीले पलाँता जस्ता विकट वस्तीमा स्वास्थ्य शिविर संचालन गरिनुले कार्यक्रम थप प्रभावकारी भएको बताउनुभयो । उक्त शिविरमा नेपाल प्रहरी अस्पताल तथा जिल्ला अस्पताल कालिकोट सहितको चिकित्सक टोलीले ५ सय ५० जनालाई निस्शुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

कार्यक्रममा पालिकाका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधिहरु, बुद्धिजिवी, समाजसेवी, विद्यार्थीहरु, प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्