राष्ट्रपति मुनद्वारा अमेरिका र उत्तर कोरियाबीचको सहमतिमा जोड



बेइजिङ, (एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित दोस्रो चरणको वार्ता सम्मुख बिहीबार चीन र दक्षिण कोरियाले कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण पार्ने विषयमा प्योङयाङ र वासिङ्टन दुवैलाई लचिलो हुन आग्रह गरेका छन्।
साथै सोल र बेइजिङले अमेरिकाको दबाब अभियानका कारण उत्तर कोरियाको निःशस्त्रीकरण विषय हातबाट गुम्ने सक्ने पनि बताएका छन्। बिहीबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आफूले कम्तीमा केही हदसम्म नाकाबन्दी फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने र त्यसका लागि अन्तरकोरियाली व्यापार व्यवसाय र पर्यटनलाई सुचारु गर्ने व्यक्त गरेका छन्।

साथै मुनले प्योङयाङले वासिङ्टनको मन जित्नका लागि निःशस्त्रीकरणतर्फको साहसिक कदम चाल्नुपर्ने पनि बताएका छन्। उनले राष्ट्रपति निवास ब्ल्यु हाउसमा पत्रकारलाई भनेका छन्– ‘मेरो विचारमा अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवाका लागि उत्तर कोरियाले निःशस्त्रीकरणको बाटो अपनाउनुपर्छ भन्ने राम्ररी थाहा छ।’

त्यसै गरी अमेरिकाले पनि उत्तरको आणविक निःशस्त्रीकरणका लागि आफूले पनि केही काम गर्नुपर्छ भन्ने बुझेको छ। त्यसै गरी यसैसता बेइजिङ भ्रमणमा आएबा किमलाई स्वागत गर्ने क्रममा चिनियाँ राष्ट्रपति सीले आफूले यस विषयमा उत्तर कोरिया र अमेरिका दुवैले आपसी सहमति पूरा गर्ने कुरामा विश्वास लिएको बताएको चिनियाँ सरकारी समाचार निकाय सिन्≈वाले जनाएको थियो। चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी गठबन्धन हो।

त्यसै गरी अमेरिका समर्थित दक्षिण कोरिया र अमेरिका आफैंले पनि पछिल्ला समयमा उत्तरमाथिको नाकाबन्दी फुुकुवा गर्दै सम्बन्ध सुधार गर्ने लक्षण देखाउँदै आएका छन्। गत वर्षको १२ जुनमा सिंगापुरमा सम्पन्न ऐतिहासिक शिखर वार्ताको दौरान ट्रम्प र किमबीच कोरियाली प्रायद्विपमा निःशस्त्रीकरण गर्ने बारेमा सहमति भएको थियो।

तर, त्यसको उपलब्धि हासिलका लागि ठोस खाका तयार भइसकेको थिएन। सन् १९५० देखि १९५३ सम्म चलेको कारियाली युद्ध कुनै औपचारिक शान्ति सम्झौतामा नभई युद्धविराम घोषणमा मात्र टुंगिएकाले अझै पनि प्राविधिकरूपमा दुई कोरिया युद्धरत नै रहेको मानिन्छ।
यसैबीच चीन भ्रमणमा रहेका किमले राखेको उत्तर कोरिया भ्रमणको आमन्त्रणलाई चिनियाँ राष्ट्रपति सीले सहर्ष स्वीकार गरेको बिहीबार चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

गत वर्ष उत्तर कोरियाले अमेरिकाको मुख्यभूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि अन्तर्राष्ट्रिय जगत्मै सन्त्रास फैलिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्