अमेरिका–मेक्सिको सीमा पर्खाल विवाद



डेमोक्र्याट नेताहरूसँगको बैठक बीचमै छोडर गए ट्रम्प
राजनीतिक अस्थिरताको दौड शुरू
वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनको विवादास्पद अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण योजनामा जारी विवाद सल्टाउन आयोजित बैठक बीचमै छोडेर गएको बताइएको छ।

मेक्सिकोसँगको सीमा पर्खाल बनाउन ५ अर्ब ७० करोड डलर धनराशी छुट्याउन राखेको आफ्नो माग अस्वीकार गरेपछि वरिष्ठ डेमोक्र्याट नेता नेन्सी पेलोसी र चक सुमरसँगको बैठकबाट उनी उठेर गएका थिए। यसअघि ट्रम्पले विपक्षी पार्टी उक्त बजेटका लागि राजी नभएको स्थितिमा राष्ट्रिय संकटकाल लागू गर्ने धम्की दिएका थिए।

ट्रम्पले आपत्कालको धम्की दिँदै आफू आप्रवासीलाई रोक्न पर्खाल निर्माण गर्ने आफ्नो योजना कुनै पनि हालतमा पूरा गर्न चाहेको बताएका थिए। ट्रम्पले प्रतिनिधिसभाका सभामुख नेन्सी पेलोसी र सिनेटमा अल्पमतका नेता चक सुमरसाग आंशिकरूपमा बन्द अवस्थामा रहेको सरकारी कामकाज पुनः शुरू गर्न भनेका थिए। तर, यसका लागि आगामी ३० दिनमा पर्खालका लागि धनराशी छुट्याउने कदमको समर्थन हुन्छ, भन्ने प्रश्न राखेका थिए। जवाफमा पेलोसीले समर्थन नहुने बताएपछि ट्रम्प रुष्ट भएका थिए।

बैठकमा रुष्ट भएको ट्रम्पले ट्विट भने– ‘म चक र नेन्सीसँगको बैठक बीचमै छोडेर आएँ। त्यो पूरै समयको बर्बादी थियो। मैले प्रश्न राखेको थिएँ, यदि हामीले सरकारी काम पुनः शुरू ग¥यौं भने ३० दिनमा के तपाईं पर्खाल वा स्टी अवरोधकसमेत सीमा सुरक्षालाई स्वीकृति दिनुहुन्छ रु भन्दा नेन्सीले दिँदैनौं भनिन्। मैले बाइबाइ भनिदिएँ। अरू केही गर्न सकिँदैनथ्यो।’

ट्रम्पले बैठक बीचबाटै उठेर जानुले अमेरिकामा राजनीतिक अस्थिरताको नयाँ दौड शुरू भएको छ। बैठकपछि नेन्सी र सुमरले सञ्चारमाध्यमसँग डेमोक्र्याटिक पार्टीका नेता कुनै पनि हालतमा सीमा पर्खालका लागि बजेट दिन इच्छुक नभएको बताए। पार्टीले यस मामिलामा आफ्नो अडान परिवर्तन नगर्ने पनि उनीहरुले संकेत दिए। ≈वाइट हाउसको सिचुएसन रुममा बसेको उक्त बैठकपछि पेलोसीले संवाददातासँग बैठक कक्षको वातावरण राम्रो नभएको प्रतिक्रिया दिइन्। सुमरले भने– ‘ट्रम्पको कुरा मानिनौं र उनी बैठकबाट हिँडे।’

यसअघि ट्रम्पले बुधबार राष्ट्रिय संकटकाल लगाउनु अन्तिम विकल्प भएको तर विपक्ष दलका नेता सीमा पर्खालका लागि पैसा छुट्याउँदैनन् भने आफूले संकटकाल लगाउन सक्ने बताएका थिए। विश्वभरीबाट प्रतिभाशाली ब्यक्तीहरुको खोजी गरिरहेका अमेरिकी कम्पनीहरुको प्रगतिका लागि वास्तविक आप्रवासी सुधारको आवश्यकता रहेको बताएका थिए। स्थितिमा सुधार गर्न आप्रवासी विधेयक ल्याउने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्