चिसोबाट बचौं




यतिबेला देशभर चिसो बढेको छ। चिसो बढेसँगै पूर्वी, मध्य तराई र सुदूरपश्चिमका जिल्लाहरूमा शीतलहरले जनजीवन प्रभावित भएको छ। औसत पुसको पहिलो सातादेखि नै शीतलहरले तराईका जिल्लाहरूमा प्रभाव पार्छ। चिसो हावासँगै परेको शीतबाट सिरहा, सप्तरी, सुनसरी, धनुषा, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत प्रदेश नं २ मा जनजीवन कष्टकर भइरहेका खबर सार्वजनिक भइरहेका छन्। शीतलहरका कारण विपन्न समुदायका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन्। न्यानो ओत र लत्ताकपडाको अभावमा विभिन्न जिल्लाका वृद्धवृद्धा तथा बालबालिका कठ्यांग्रिएर मृत्यु भएको खबर सञ्चारमाध्यममा आउन थालेको छ। शीतलहर र चिसोका कारण हरेक वर्ष दर्जनौं मानिसको मृत्यु हुँदै आएको छ।

चिसोका कारण भनिए पनि अधिकांश मानिसको गरिबीले गर्दा लुगाफाटोको अभावमा ज्यान गइरहेको छ। चिसो छल्न आगो ताप्नका लागि पराल र गुइँठाको भर पर्नुपर्ने अवस्था छ। गुइँठा बालेर सुत्दा अक्सिजनको अभावले श्वासप्रश्वासमा असर पुगेर मृत्युसमेत हुने गरेको छ। आगो ताप्दाताप्दै जिउमा आगो सल्किएर ज्यान गएको र झ्यालढोका थुनेर गुइँठा बाल्ने कारण धेरैजसोको ज्यान जाने घटना नौलो होइन।
तराईका जिल्लाहरूमा बाक्लो हुस्सुसँगै शीतलहर चल्ने कारण न्यानो लुगा नहुनेहरू मृत्युको सिकार हुँदै आएका छन्। यस्तो भयावह स्थितिमा सरकारले विपन्न वर्गका लागि खासै सहयोग गरेको पनि पाइँदैन। शीतलहरकै कारण कमजोर आर्थिक अवस्था भएका बस्तीमा वृद्धवृद्धा, बालबालिका तथा महिलाको बिचल्ली हुँदै आए पनि सरोकारवालाले चासो नदेखाउँदा चिसोले कठ्यांग्रिएर अकालमै मर्नुपर्ने बाध्यता विद्यमान छ।

मुलुकमा आइपर्ने दैवी विपत्तिबाट नागरिकलाई जोगाउन हरेक जिल्लामा दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समिति गठन भएको हुन्छ। तर, शीतलहरपीडितका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पाइँदैन। गतिलो गास, बास र कपासबिना मजदुरी गरेरै जीवन निर्वाह गर्नुपर्ने वर्गका लागि शीतलहरले जनजीवन नराम्ररी प्रभावित बनाएको छ। चिसोका कारण हुने निमोनिया, ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया र मुटुसम्बन्धी समस्या भएका बिरामीहरूको संख्या दिनहुँ बढिरहेको छ। खासगरी अल्पसंख्यक मुसहर, डोम, बाँतर, दुसाध, माझी समुदायका बस्तीमा शीतलहरले सास्ती दिएको छ।

विपन्न समुदायका बस्तीमा परालको भरमा रात काट्नुपर्ने बाध्यता विद्यमान छ। विगतका वर्षहरूमा सरकारी निकायले सार्वजनिक स्थलहरूमा चिसोबाट बचाउन आगो ताप्ने व्यवस्था गरेको थियो। तर, यो वर्ष यस्ता कार्यक्रम सञ्चालन गरिएको पाइँदैन।

शीतलहरको क्षतिबाट जोगाउने उपायको खोजी नगरिँदा बर्सेनि अकालमा ज्यान गुमाउनेको संख्या थपिँदै गएको छ। अत्यधिक जाडोका कारण मुलुकका दर्जनौं जिल्लाको जनजीवन असाध्यै कष्टकर बनेको छ। बाक्लो हुस्सु र चिसोका कारण तराईका जिल्लामा सवारीसाधनको दुर्घटना पनि बढिरहेको छ। हिमाली क्षेत्रमा हिमपातदेखि भूकम्प प्रभावित, आगोलागी पीडित, बाढीपहिरोपीडित सबैलाई चिसोको समस्याले गाँजेको छ।
चिसोबाट उत्पन्न दुर्घटनाबाट बचाउन सरकारले स्थानीय तहमार्फत विशेष प्याकेज ल्याउनुपर्छ। समयमै सम्भावित दुर्घटनाबारे सचेत नहुने र अकालमा नागरिक मरेपछि मात्रै सरकारले राहत र उद्धारका कार्य सञ्चालन गर्ने विगतका अभ्यासले पीडितहरू सुरक्षित हुन सकेका छैनन्।
सरकारले शीतलहरबाट प्रभावितका लागि गाउँगाउँमा स्वास्थ्यकेन्द्रमार्फत शिविर सञ्चालन गरी बिरामीलाई उपचारको व्यवस्था गर्नुपर्छ। विपन्न बस्तीहरूमा न्यानो लुगा वितरण गरी आवश्यकीय सामग्रीहरू उपलब्ध गराउन सक्नुपर्छ। आगामी दिनमा चिसोका कारणले नै मानिसको मृत्यु भएको खबर सुन्नुपर्ने अवस्था नआओस्, कामना गरौं।
मनोज खनाल, बैतडी हाल काठमाडौं।

प्रतिक्रिया दिनुहोस्