सरकारको धारणालाई फिल्ममा समेटेकोमा मन्त्री दंग



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार गोपी फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेट्दै सरकारको धारणालाई फिल्मले समेटेकोमा खुसी व्यक्त गरेका छन्।

‘चा≈यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ। अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमिकतामा राखेको छ। सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुसी लाग्यो’, भेटमा मन्त्री विष्टले भने– ‘मैले यदाकदा नेपाली फिल्म हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको थाहा पाएको छु। नीतिगतरूपमै मौलिक फिल्मलाई प्रवद्र्धन गर्ने कुरा सरकारसँग राख्नेछु।’

भेटमा उनले फिल्मको बजेट र सुटिङसम्बन्धी जिज्ञासा राख्दै फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्म निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताएका थिए। निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए। ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाको ठूलो जमात देशमा छ। त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गोपीमा गरेका छौं’, लामाले भने– ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हाम्रो उद्देश्यमा धेरथोर भए पनि सफल भएको महसुस भएको छ।’ पत्रकार तथा फिल्मका लेखक सामिप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने जनाउँदै फिल्मले देश छाड्न चाहने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए। उनले मन्त्रीको फिल्मप्रतिको चासोले गोपीलाई मात्र नभई मौलिक कथामा फिल्म बनाउन चाहने फिल्मकर्मीलाई प्रेरित गर्ने बताए।

भेटघाटमा फिल्मका मुख्य कलाकार विपीन कार्की र सुरक्षा पन्तसँगै निर्देशक लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक तिमल्सेना सहभागी थिए। फिल्म आगामी माघ १८ गते अल नेपाल रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्