साइपाल शीर्ष स्थानमा



काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बुधबार शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंगाएको छ ।
लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसीएसलाई ६०–४० ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पा¥यो ।

अपराजित साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसीएसका लागि तनुजा गुरुङले १६ अंक जोडेपनि जितलाई पर्याप्त भएन । अर्को प्रतिस्पर्धामा एनसीसीएससंगै संयुक्त आयोजक रहेको विशाल मिलन केन्द्र (बीएमके) ले काठमाडौं नर्थ पोल क्लबलाई ३२–२० ले हरायो । राउन्ड रोविनको समाप्तिमा शत प्रतिशत जितसाथ साइपाल शीर्ष स्थानमा रहँदा ३ जित र १ हारसाथ समृद्धि गोरिल्लाज दोश्रो भयो । बीएमके (२ जित र २ हार) तेश्रो तथा नर्थ पोल (१ जित र ३ हार) चौथो भए । कुनैपनि खेल नजितेको एनसीसीएस प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पहिलो स्थानको साइपाल र दोश्रो भएको समृद्धिले फाइनलमा प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले तेश्रो स्थानको बीएमके र चौथो स्थानको नर्थ पोलबीचको विजेतासंग पुनः फाइनल प्रवेशका लागि खेल्न मौका पाउनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार साइपाल र समृद्धि तथा बीएमके र नर्थ पोलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्